गुल्मीको रेसुङ्गा नगरपालिका ७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रेसुङ्गा ७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मङ्गलबार अपराह्न गुल्मीदरबार गाउँपालिका ७ का ५० वर्षीय टेकबहादुर खत्रीले पार्किङ गरी राखेको लु१ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अगाडि बढाउने क्रममा पैदलयात्री विकलाई अचानक ठक्कर दिएको थियो।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि गए राति नै बुटवलस्थित चौराहा हस्पिटल लगिएको थियो। विकको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १० भाद्र २०८३ १०:२६ बुधबार