समाज

एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई सास्ती

कालीकोटका स्थानीय तहमा रहेका एम्बुलेन्स बिग्रिएपछि बिरामीले चर्को मूल्य तिरेर भाडाका गाडीमा चढ्न बाध्य भएका छन्। जिल्लाको पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाको एम्बुलेन्स मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका हुन्।

पचालझरना गाउँपालिकाको एम्बुलेन्स बिग्रिएको वर्षौं भइसक्दा पनि मर्मत हुनसकेको छैन। इञ्जिन समस्याका कारण थन्किएको एम्बुलेन्स मर्मत गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सकिन्छ। गाउँपालिकाको आँगनमा थन्किएर बसेको सो एम्बुलेन्स मर्मत नगरिँदा पचालझरनाका बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित रहेको स्थानीय भिम आचार्यले बताए। एम्बुलेन्स सञ्चालनमा नहुँदा बिरामीलाई समस्या हुने गरेको उनको भनाइ छ।

यता खाँडाचक्र नगरपालिकाको एम्बुलेन्स समेत एक वर्षदेखि मर्मत नहुँदा महँगो भाडामा गाडी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ। स्थानीय युवा हिक्मतजंङ मल्लले बिरामी बोक्ने एम्बुलेन्सको पैसा तिर्न नसकेर ग्यारेजमा राख्नु दुखद भएको बताए। उनले भने, ‘नगरपालिकाका जनप्रतिनिधि चढ्ने गाडी पाँच लाखमा मर्मत हुन्छन्। त्यही   एम्बुलेन्सको दुई लाख पचास हजार तिर्न नसकेर ग्यारेजमै छ।’

खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवेन्द्र सेजुवालका अनुसार अहिले बिरामीका आफन्तले फोन गरिरहन्छन् तर एम्बुलेन्सको मर्मतको पैसा नगरपालिकाले तिर्न नसक्दा सेवा दिन नसकिएको बताए। उनले नगरपालिकाले मर्मतमा बजेट नछुट्टाएको बताए।

प्रकाशित: १९ चैत्र २०८२ ०९:३५ बिहीबार