समाज

घरमै पुग्न थाल्यो राहदानी, जुम्लीलाई हट्यो सदरमुकाम धाउने सास्ती

जुम्लामा पहिलोपटक घरदैलोमै पुगेर राहदानी वितरण सुरु गरिएको छ । यससँगै नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्न थालेको छ ।

चन्दननाथ नगरपालिका–७ का नेत्रबहादुर खत्री र वडा नम्बर ६ का श्रीबहादुर रोकायाले बिहीबार घरमै राहदानी पाएपछि सेवा सहज भएको प्रतिक्रिया दिएका छन् । यसअघि राहदानी लिन जिल्ला प्रशासन कार्यालय पुग्दा पनि धेरै नागरिक रित्तै फर्किने गरेका थिए ।

नयाँ सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला हुलाक कार्यालय जुम्ला बीच समझदारी भएपछि घरमै राहदानी पुर्‍याउने व्यवस्था सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेल ले दुर्गम जिल्लामा नागरिकले भोग्दै आएको सास्ती कम गर्न यो सेवा प्रभावकारी हुने बताए । अब जिल्लाका आठवटै स्थानीय तहमा घरदैलोमै राहदानी वितरण गरिने प्रशासनको तयारी छ ।

जुम्लाका धेरै गाउँबाट सदरमुकाम पुग्न अझै एकदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने अवस्था छ । यातायात खर्च र समय अभावका कारण राहदानी बने पनि लिन नसक्ने समस्या रहँदै आएको थियो । प्रशासनका अनुसार हाल जिल्लामा वितरण गर्न ६१ वटा राहदानी तयारी अवस्थामा छन् ।

प्रकाशित: २४ वैशाख २०८३ २०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App