प्रहरी महानिरीक्षक दिपक थापाले पद बहाली गरेपछिका महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरिएको छ।
नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य प्रगति विवरणमा नेपाल प्रहरीले वित्तीय अनुशासन, संगठनात्मक सुधार, प्रविधिमैत्री सेवा प्रवाह र कर्मचारी कल्याणका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताइएको छ।
प्रगति विवरण अनुसार वित्तीय अनुशासनतर्फ प्रहरीले ऐतिहासिक सफलता प्राप्त गरेको छ।आर्थिक वर्ष २०८१/८२ मा फर्स्योट गर्नुपर्ने कुल ९९ करोड २३ लाख रुपैयाँ बेरुजुमध्ये ९१ करोड १२ लाख रुपैयाँ (९१.८२%) फर्स्योट गर्न सफल भएको छ।
यो उपलब्धिको आधारमा बेरुजु फर्स्योट मूल्याङ्कन तथा अनुगमन समितिले नेपाल प्रहरीलाई ‘सर्वोत्कृष्ट’ स्थान प्रदान गरेको छ। यसैगरी, फैसला कार्यान्वयनतर्फ अघिल्लो वर्षको तुलनामा फरार अभियुक्त पक्राउ संख्यामा ६५.१४% ले वृद्धि भएको छ।
संगठनात्मक सुधार र अपराध अनुसन्धानलाई आधुनिक बनाउन पनि महत्वपूर्ण कदम चालिएको छ। बढ्दो आर्थिक तथा वित्तीय अपराधलाई नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत ‘नेपाल प्रहरी आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा’ सञ्चालनमा ल्याइएको छ।
साथै, बढ्दो अनलाइन ठगी (स्क्याम) का घटनालाई तत्काल रोक्न र नियन्त्रण गर्न ‘डिजिटल प्लेटफर्म’ को विकास कार्य अन्तिम चरणमा पुगेको छ भने संगठनलाई ड्रोन हमलाबाट सुरक्षित राख्न ‘एन्टी-ड्रोन सिस्टम’ खरिद प्रक्रिया पनि अन्तिम चरणमा रहेको विवरणमा उल्लेख छ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न कल्याणकारी कार्यक्रमहरूलाई समयसापेक्ष परिमार्जन गरिएको छ। आधारभूत तहका कर्मचारीहरूलाई लक्षित गरी कर्जा लिनका लागि आवश्यक ७ वर्षे सेवा अवधिलाई घटाएर ५ वर्षमा झारिएको छ।
सहुलियत कर्जा ४ लाखबाट बढाएर ५ लाख र घर कर्जा १० लाखबाट २० लाख पुर्याइएको छ भने सबै कर्जामा १% ब्याजदर घटाइएको छ। बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्रदान गरिने छात्रवृत्ति पनि ८ हजारबाट बढाएर १२ हजार पुर्याइएको छ।
नेपाल प्रहरी अस्पतालको सेवालाई पनि व्यापक विस्तार गरिएको छ। अब पूर्वप्रहरी कर्मचारी र उनीहरूका परिवारले पनि बहालवालासरह उपचार सेवा पाउनेछन्। अस्पतालमा न्यूरोलोजी, न्यूरो सर्जरी र ईण्डोक्राइनोलोजी जस्ता विशेषज्ञ सेवाहरू थप गरिएका छन्।
ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन देशभर ‘ई-चल्लन’, ट्राफिक भायोलेसन रेकर्ड सिस्टम र ट्राफिक कम्युनिकेसन एप सञ्चालनमा ल्याइएको छ।
साथै, १५ वर्षभन्दा बढी समय एउटै स्थानमा कार्यरत ट्राफिक प्रहरीलाई अन्यत्र सरुवा गर्ने नीतिको कार्यान्वयनले ट्राफिक व्यवस्थापनमा नयाँपन र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: ११ श्रावण २०८२ १८:५१ आइतबार