समाज

समृद्धिको खोजीमा पर्वतेली

फाइल तस्बिर

समृद्धिको खाका कोर्ने लक्ष्यसहित पर्वतेली काठमाडौंमा भेला हुने भएका छन् ।  

नेपाली महिलाको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पर्वतेली दिदीबहिनी तथा दाजुभाइलाई एकै थलोमा भेला गराएर व्यवसायीक प्रवर्द्धनको योजना बनाउँदै दर खाने कार्यक्रम राखिएको आयोजक कल्पना चापागाइँले जानकारी दिइन ।  

कार्यक्रममा पर्वत जिल्ला स्थायी घर भई काठमाडौं तथा देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका करिब दुई हजार दिदीबहिनी तथा दाजुभाइको सहभागिता रहनेछ ।  

कार्यक्रमले तीजको मौलिकता र नेपाली कला–संस्कृतिको संरक्षणसँगै पर्वतेली समुदायबीचको एकता, सद्भाव र आपसी सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ। तीजको दर खाने, शुभकामना साटासाट गर्ने तथा सांस्कृतिक प्रस्तुति रहने कार्यक्रममार्फत पर्वतेली समुदायबीच परिचय, अनुभव र सहकार्यको अवसरसमेत सिर्जना गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रमले सुख–दुःखमा साथ दिने सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र तीजको सांस्कृतिक महत्वसँग जोड्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमकै क्रममा पर्वतलाई गृह जिल्ला बनाएर काठमाडौं तथा अन्य स्थानमा बसोबास गर्दै आएका महिलालाई संगठित गर्दै ‘पर्वतेली दिदीबहिनी समाज’ गठनको पहल अघि बढाउने तयारीसमेत गरिएको छ। यसले विभिन्न क्षेत्रमा कार्यरत पर्वतेली महिलाबीच सहकार्य, अनुभव आदानप्रदान र सामाजिक सम्बन्ध विस्तारमा योगदान पुग्ने आयोजकको विश्वास छ।

‘तीजलाई केवल पर्वका रूपमा नभई आपसी सद्भाव, संस्कृति संरक्षण र सामाजिक एकताको अवसरका रूपमा मनाउने’ उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०८३ २०:११ आइतबार