समाज

पेपरलेस धनगढी : अब घरमै सेवा

धनगढी उपमहानगरपालिकाबाट सेवा लिनका लागी सेवाग्राहीलेअब कार्यालयमा पुगेर कर्मचारीको कोठा कोठा धाउनु पर्ने छैन। 

धनगढी उपमहानगरपालिकाले नगरभित्रका बासिन्दाको सहजताका लागी घरमै बसेर अनलाइनबाट सेवा लिन सकिने डिजिटल प्रणाली विकास गरेको छ।

‘पेपरलेस धनगढी’ (कागज विहीन) अन्तर्गत सेवाग्राहीलाई अनलाइन मार्फत घरमै सेवा उपलब्ध गराउन एकीकृत डिजिटल प्रणालीको अवधारणाको पहिलो चरणका काम सम्पन्न भएको उपमहानगरका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर अनुप भट्टले बताए।

सोमबार पत्रकार सम्मेलन गरेर ‘पेपरलेस धनगढी’ अन्तर्गत डिजिटल प्रणालीमार्फत सेवा सुरु भएको उनले जानकारी दिए।

सेवाग्राहीको सहजताका लागी अनलाइन बाट घरमै सेवा प्रदान गर्न सुरु गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए।

कार्यालयमा कर्मचारीको कोठा कोठा पुगेर कर्मचारीलाई भेटेर सेवा लिनुपर्ने झन्झट हटेर सेवाग्राहीले सहज र सुलभ रूपमा सेवा पाउन भनेर पेपरलेस धनगढीको अवधारणा सुरु गरिएको उनले बताए।

‘कर्मचारीले फाइल अड्कायो भनेर सेवाग्राहीको गुनासो सुनिन्थ्यो, अव अनलाइन बाट घरमै बसेर सेवा उपलब्ध हुँदा यी सबै समस्या एकैसाथ अन्त्य भएर सहज हुने छ,’उनले भने।

सेवाग्राहीलाई घरमै बसेर अनलाइनबाट सेवा लिनका लागी सिक्न केही समय लाग्न सक्ने भएकाले त्यो नजान्ने सेवाग्राहीलाई परम्परागत रूपमा पनि कार्यालयबाट सेवा प्रदान गरिने उनको भनाई छ। डिजिटल प्रणालीले सेवालाई प्रविधिमैत्रीका साथै छिटोछरितो र पारदर्शी बनाउने उनको भनाई छ।

‘एकीकृत डिजिटल प्रणाली—युडीजीपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न भइसकेको इन्जिनियर भट्टले बताए। यो डिजिटल प्रणालीको विकासले नगरवासीको, करदाताको पहिचान र  तथ्यांक पनि लिपिबद्ध हुने उनको भनाई छ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको साझेदारीमा एकीकृत डिजिटल प्रणालीको विकास सम्पन्न भएको हो।

यो प्रणालीबाट नगरवासीलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउनका साथै तथ्याङ्कका आधारमा नीति तथा योजना बनाउन पनि सजिलो हुने उनको भनाई छ।

‘एउटै ‘प्लेटफर्म’ भित्र विभिन्न सफ्टवेयर एकीकृत गरी सेवा प्रवाह गरिने भएकाले नागरिकका सबै विवरण एउटै प्रणालीमा सुरक्षित रहने छ’भट्टले भने। सेवाग्राहीले एक पटक अपलोड गरेको कागजात पुनः बुझाउनुपर्ने अवस्था अन्त्य हुने छ।

पहिलो चरणमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन उपमहानगरका १९ वटै वडाका सचिवलाई तालिम समेत दिइने उनको भनाई छ।

यसैगरी नागरिक ई–केवाइसी, विभिन्न सिफारिस, फाइल ट्र्याकिङ तथा डिजिटल सेवा सञ्चालन सम्बन्धी क्षमता विकास गरिने छ।

घरबाटै अनलाइन मार्फत सेवा लिन असक्षम सेवाग्राहीलाई कार्यालयमै डिजिटल सेवा उपलब्ध गराउन पनि सहायता कक्ष स्थापना गरिने भट्टले बताए। सहायता कक्षमा रहेका कर्मचारीले विवरण डिजिटल प्रणालीमा दर्ता गरेर डिजिटल सेवा प्रदान गर्न सहयोग गर्नेछन्।

‘जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता, नवीकरण लगायतका सबै सेवा घरमै अनलाइनमार्फत लिन सक्ने प्रणाली विकास गरिएको छ,’उनले भने।

आवश्यक कागजात अपुग भएमा वा अन्य समस्या देखिएमा सेवाग्राहीको मोबाइलमा सूचना पठाइने व्यवस्था रहेको उनले बताए। तयार भएका कागजात मोबाइलमै प्राप्त हुने छन्।

यसै गरी करिब ३ महिना पछि दोस्रो चरणको सेवा सुरु गरी सक्ने उनको भनाई छ। दोस्रो चरणमा कार्यालयको टिप्पणी लेखन तथा व्यवस्थापन, गुनासो तथा सुझाव व्यवस्थापन, ई–सिग्नेचर, डिजिटल भुक्तानी,राजस्व सङ्कलन, विकास निर्माण अनुगमन लगायतका सेवा उपलब्ध गराइने छ।

यसै गरी सार्वजनिक सूचना, कार्यालय विवरण, विपद्, डेटा दृश्यावलोकन, डेटा सुरक्षा तथा डिजिटल अभिलेख व्यवस्थापन प्रणाली लागु गरिने उनले बताए।

प्रकाशित: १८ श्रावण २०८३ १७:३८ सोमबार