पाल्पामा पहिरोमा परी गएराती एक जनाको मृत्यु भएको छ।
जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ३ रुप्सेका ७५ वर्षीय शेरबहादुर चिदीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराइले जानकारी दिए।
डिएसपी भट्टराइका अनुसार पहिरोले घर पुरिँदा उनी च्यापिएका थिए। परिवारका अरू सदस्य भने भाग्न सफल भएको डिएसपी भट्टराइले बताए। पाल्पामै पहिरोमा परेर शनिबार अर्की एक महिलाको पनि मृत्यु भएको थियो।
रिब्दीकोट गाउँपालिकाको ठिमुरेमा शुक्रबार राती पहिरोले घर पुरिँदा ५९ वर्षीय कृष्णकुमारी सारुको मृत्यु भएको हो। प्रहरीले शनिबार पहिरो पन्छाएर सारुको शव निकालेको थियो।
शुक्रवारदेखि परेको अविरल वर्षाका कारण पाल्पाको विभिन्न स्थानमा पहिरो खस्दा एक दर्जन बढी घरपरिवार विस्थापित भएको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको डिएसपी भट्टराइले बताए।
त्यस्तै बुटवल-पाल्पाको डुम्रे नजिकै गौडा भन्ने स्थानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै आर्यभञ्ज्याङमा पनि रुख ढलेर बाटो अवरुद्ध भएको छ। डिएसपी भट्टराइका अनुसार पाल्पाको तानसेन लगायतका केही स्थानमा पानी पर्न रोकिए पनि केही स्थानमा भने अहिले पनि पानी परिरहेको बताए।
प्रकाशित: ११ आश्विन २०८३ ०८:५३ आइतबार