भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सुनसरी र मोरङका निजी उच्च शिक्षालय तथा माध्यमिक विद्यालयबाट ९० लाखभन्दा बढी रुपैयाँ सहयोग जुटेको छ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरीले बाढी प्रभावित नागरिकका लागि जिल्लाभरबाट ५६ लाख २८ हजार ६५२ रुपैयाँ संकलन भएको जनाएको छ। जसमा संकलित रकममध्ये सबैभन्दा बढी विश्व आदर्श कलेज इटहरीले १२ लाख ५५ हजार रुपैयाँ प्रदान गरेको छ।
यस्तै, इटहरीमै सञ्चालित सुष्मा कलेज तथा स्कुलले संयुक्त रूपमा ११ लाख २९ हजार ७५५, ग्रिनपिस नमूना कलेजले आठ लाख ५५ हजार ५५५, कस्तूरी कलेज इटहरीले आठ लाख १५ हजार ५५५ र प्रिमियर ग्लोबल स्कुलले तीन लाख रुपैयाँ उपलब्ध गराएको हिसान सुनसरी अध्यक्ष सागर भट्टराईले बताए।
हिसान सुनसरीका अनुसार पूर्वाञ्चल सेकेन्डरी स्कुलले एक लाख १५ हजार, सिभी सेकेन्डरी स्कुलले एक लाख एक हजार १११, स्कील कलेजले ५५ हजार, पिसजोन स्कुलले ५१ हजार १११ र इमपेरियल कलेजले ५० हजार ५५५ रुपैयाँ उपलब्ध गराएका छन्।
यस्तै, धरान क्षेत्रका शिक्षालयबाट एक लाख ६० हजार रुपैयाँ संकलन भएको छ। रामधुनी क्षेत्रका शिक्षालयमध्ये लर्ड बुद्द इन्टरनेशनल स्कुलले एक लाख ५५ हजार रुपैयाँ उपलब्ध गराएको छ। रामधुनी र इनरुवा क्षेत्रबाट कुल एक लाख ७५ हजार रुपैयाँ संकलन भएको छ। यी सवै पैसा हिसान केन्द्रीय कार्यालयमा पठाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरेले बताए।
बाढी प्रभावित क्षेत्रका बालबालिकाले सुनसरीका निजी शिक्षालयमा आएर पढ्न चाहेको खण्डमा एक हजारलाई निःशुल्क पढाउने पनि घोषणा गरेको छ। हिसानका केन्द्रीय उपाध्यक्ष समेत रहेका प्रिमियर ग्लोबल स्कुल इटहरीका प्रमुख मुकुन्द घिमिरेले कतिपय निजी शिक्षालयको आवासीय सुविधा नभएकाले गर्दा आवासबाहेक सम्पूर्ण खर्च बेर्होने गरि पठनपठानको व्यवस्था मिलाउने बताए।
उत्ता, मोरङका विभिन्न शिक्षालयबाट पनि बाढी प्रभावित नागरिकका लागि राहत संकलन भइरहेको छ। अहिलेसम्म मोरङको विराटनगर क्षेत्रका निजी शिक्षालयमध्ये शिक्षादिपबाट १२ लाख ५१ हजार, बिकेबिएमबाट १० लाख, अरनिकोबाट १० लाख एक हजार १११ र पथरीको रेडस्टार स्कुलबाट एक लाख ५५ हजार रुपैयाँ संकलन भएको हिसान जिल्ला अध्यक्ष अमित ढकालले बताए।
उनका अनुसार शुक्रबार (भदौ १९ गते) सम्म सीमा तोकेर अरु निजी शिक्षालयबाट पनि रकम संकलन भइरहेको छ। झापामा पनि विद्यार्थी, शिक्षक तथा कर्मचारी र संस्थागत रूपमा अलग अलग बाढी प्रभावितका लागि रकम संकलन भइरहेको हिसान झापा जिल्ला अध्यक्ष टेकनाथ भण्डारीले बताए।
प्रकाशित: १८ भाद्र २०८३ १३:१० बिहीबार