समाज

हाम्राे अठाेट

प्रकाशकीय

नेपाल रिपब्लिक मिडिया आजबाट १८औं वर्षमा प्रवेश गरेको छ। लोकतान्त्रिक गणतन्त्र स्थापनालगत्तै सुरु भएको यो प्रकाशन संस्थाको जीवन आरोह–अवरोहमय छ। मुलुकमा सुशासन, स्वतन्त्रता र समृद्धिका निम्ति आफ्ना प्रकाशन र प्रसारणका अन्तरवस्तुमार्फत यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

मुलुकको लोकतान्त्रिक परिपाटीलाई सक्रिय तुल्याउन सञ्चारमाध्यमको भूमिका अपरिहार्य हुन्छ। आज देशको सञ्चार पर्यावरण भिन्न अवस्थामा पुगेको छ। विशेष गरी डिजिटल माध्यमको सशक्त उपस्थितिलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने अवस्था छ। हामीले हाम्रा छापा माध्यमको निरन्तरता मात्र होइन, डिजिटल उपस्थितिका निम्ति पनि सशक्त ढंगले अगाडि बढ्नुपरेको छ।

हाम्रो मुलुक सात दशकभन्दा बढी समयदेखि निरन्तर शासकीय सुधारका निम्ति क्रियाशील छ।

आमनागरिकले प्रत्येक पटक परिवर्तनको अपेक्षा गरेका छन्। पछिल्लो पटक २०८२ भदौ २३ को जेनजी आन्दोलन र त्यसको भोलिपल्ट २४ गतेको आगजनी, तोडफोड र ध्वंसपछि मुलुक फेरि नयाँ परिस्थितितर्फ उन्मुख छ। २०८२ फागुन २१ मा सम्पन्न आमनिर्वाचनपछि देशले बलियो सरकार प्राप्त गरेको छ। परिवर्तनको दशकौंका अपेक्षालाई पूरा गर्नुपर्ने कार्यभार पनि यो सरकारमाथि छ।

यस परिस्थितिमा हामीले आफूलाई देशको आवश्यकता र आम नागरिकको आकांक्षालाई अभिव्यक्त गर्नुपर्ने अवस्था छ। जानकार नागरिक भएको मुलुकमा मात्र लोकतन्त्रले प्रगति गर्न सक्छ र आमनागरिकलाई जानकार बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ। त्यो भूमिकाका निम्ति हामीले निरन्तर आफूलाई क्रियाशील गराउँदै आएका छौं। आजको विषम परिस्थितिमा आफूलाई टिकाइराख्न सञ्चारमाध्यमलाई सहज छैन। यसमा राज्यले लिने नीतिगत निर्णयको भूमिका पनि उत्तिकै हुन्छ। सञ्चारमाध्यम भनेका निजी र सरकारी भनेर छुट्याउन सकिने पक्ष होइन। राज्यले सरकारी मात्र भनेर निजीलाई विभेद गर्दा पनि त्यसले अपेक्षित परिणाम दिन सक्दैन। आखिर सञ्चार जगत्ले जहिल्यै आम नागरिकका निम्ति भूमिका खेल्ने हो। तिनले आफ्ना निम्ति मात्र सोचेका हुँदैनन्। सबैका निम्ति सोच्दासोच्दै सञ्चार उद्योगलाई पनि टिक्न सक्ने बनाउनु आजको आवश्यकता हो।

सूचना प्रविधिको विकाससँगै आज भ्रामक सूचनाको बाढी आएको छ। हामीजस्ता परम्परागत सञ्चारमाध्यमले फेरि यस्तो असजिलो स्थितिसँग समेत जुध्नुपर्ने अवस्था छ। सही पत्रकारिता भनेकै कुसूचनाबाट आम नागरिकलाई जोगाउनु पनि हो। त्यसका निम्ति हामीले आफूलाई थप चुस्त र दुरुस्त बनाउनुपर्ने चुनौतीपूर्ण अवस्था पनि छ। हामीले सञ्चार जगत्को झन्डै दुई दशकको अनुभवबाट भावी दिनका चुनौती सामना गर्न थप तयारी गरेका छौं। त्यसमा पनि नेपाल रिपब्लिक मिडिया मुलुकको सञ्चारजगत्को पहिलो र एक मात्र संस्था भएका कारण पनि उल्लेख्य काम गरेर देखाउनुपर्ने चुनौतीपूर्ण अवस्था छ। हामी हाम्रा प्रकाशन तथा प्रसारणलाई मुलुक र आम पाठक तथा दर्शकका आवश्यकता पूरा गर्न सक्ने बनाउन तत्पर रहेको यहाँ दोहोर्‍याउन चाहन्छौं।

हाम्रा प्रकाशनहरू नागरिक र रिपब्लिका (अंग्रेजी) तथा यसका अनलाइन संस्करणहरूले सदैव सत्यतथ्य समाचार र सन्तुलित विचारलाई प्राथमिकता दिँदै आएका छन्। हामीले विगतमा प्रकाशन गरेका भ्रष्टाचार र अनियमितताका खबरहरूले राष्ट्रिय राजनीतिमा विहंगम प्रभाव पारेको तथ्यलाई पनि यतिबेला हामीले सम्झनैपर्ने हुन्छ।

यस पुनीत अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, वितरक, लेखक तथा पत्रकार र सहकर्मीहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौं। हामीबिचको यो सम्बन्ध आउँदा वर्षहरूमा पनि उत्तिकै गहिरो हुँदै जानेमा हामी विश्वस्त छौं।

- शोभा ज्ञवाली

अध्यक्ष, नेपाल रिपब्लिक मिडिया

प्रकाशित: ११ वैशाख २०८३ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App