रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि नयाँ तथ्य सार्वजनिक भएको छ। चीनको प्राकृतिक स्रोत मन्त्रालयका विज्ञहरूले प्रारम्भिक अध्ययनका आधारमा यो विपद् हिमताल फुटेर आएको बाढी (जीएलओएफ) नभई उच्च उचाइमा गएको बरफको हिमपहिरोबाट सुरु भएको श्रृंखलाबद्ध प्राकृतिक विपद् भएको बताएका छन्।
चिनियाँ विज्ञका अनुसार उच्च उचाइमा रहेको बरफको ठूलो भाग अचानक खसेर तीव्र गतिमा तल झर्दा बाटोमा रहेका हिमनदीका भग्नावशेष, चट्टान र माटोसमेत बगाएको थियो। त्यसपछि उक्त प्रवाह उच्च गतिको भग्नावशेष प्रवाहमा परिणत हुँदै नदीमा प्रवेश गरेको र अन्ततः नेपालतर्फ फैलिएको उनीहरूको भनाइ छ।
चीनको भूगर्भीय प्रकोप अनुसन्धान तथा अनुगमन केन्द्रका निर्देशक गुओ झाओचेङका अनुसार घटनाको क्रम उच्च उचाइको बरफको हिमपहिरो–भग्नावशेषको तीव्र प्रवाह–माटोको पहिरोका रूपमा विकसित भएको थियो। उच्च रिजोल्युसनका उपग्रह तस्बिर तथा विशेषज्ञ विश्लेषणले विपद्को सुरुवात ग्यारोङ बन्दरगाह नजिक नभई माथिल्लो हिमनदी क्षेत्रमा भएको देखाएको उनले बताएका छन्।
सात मिनेटमै २० किलोमिटर यात्रा
चिनियाँ विज्ञहरूको प्रारम्भिक मूल्याङ्कनअनुसार हिमपहिरोबाट विकसित भग्नावशेषको प्रवाहले करिब सात मिनेटमै २० किलोमिटरभन्दा बढी दूरी पार गरेको हुन सक्ने देखिएको छ। अत्यन्त तीव्र गतिका कारण प्रभावित क्षेत्रमा पूर्वसूचना दिन र तत्काल प्रतिक्रिया जनाउन निकै कम समय उपलब्ध भएको विज्ञहरूको भनाइ छ।
विज्ञहरूले उच्च हिमाली क्षेत्रमा भिरालो भूभाग, कमजोर भूगर्भीय संरचना, हिमनदीका भग्नावशेष तथा चट्टान र माटोको ठूलो मात्रा रहेका कारण यस्ता प्रवाहले बाटोमा थप सामग्री समेट्दै आफ्नो विनाशकारी शक्ति बढाउने बताएका छन्।
घटनापछि पहिरोले छोचेन खोला र पुरेपु त्साङपो नदीको संगम नजिकै बाध तालसमेत बनाएको र त्यसमा पानीको मात्रा बढिरहेकाले थप जोखिमको सम्भावना रहेको चिनियाँ पक्षले जनाएको छ।
नेपालमा भने थप अध्ययन आवश्यक
नेपालका जलवायु विज्ञ मञ्जित ढकालले बाढीको वास्तविक उत्पत्ति र त्यसमा जलवायु परिवर्तनको भूमिका यकिन गर्न थप वैज्ञानिक अध्ययन आवश्यक रहेको बताएका छन्।उनका अनुसार प्रारम्भिक तथ्यहरूमा ठूलो हिउँको ढिक्का अर्थात् स्नो एवलाञ्च खसेर प्राकृतिक बाँध बनेको, पानी थुनिएपछि उक्त संरचना भत्किँदा ठूलो बाढी आएको हुन सक्ने देखिएको छ।
घटनाअघि भूकम्प गएको विषयमा समेत फरक–फरक तथ्य आएकाले भूकम्पले हिमपहिरो निम्त्याएको हो वा हिमपहिरोका क्रममा जमिन हल्लिएको हो भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उनले बताएका छन्।
बाढीको उत्पत्तिस्थलबारे समेत प्रारम्भिक सूचना र स्याटेलाइट नक्साबीच फरक देखिएको ढकालको भनाइ छ। त्यसैले घटनालाई एउटा निश्चित कारणसँग जोडेर निष्कर्ष निकाल्नुअघि विस्तृत अध्ययन आवश्यक रहेको उनले बताएका छन्।
जलवायु परिवर्तनको भूमिका खोजिँदै
रसुवा बाढीमा जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने विषयमा पनि तत्काल निष्कर्ष निकाल्न नहुने ढकालले बताएका छन्। उनका अनुसार कुनै निश्चित घटनामा जलवायु परिवर्तनको प्रभाव कति थियो भन्ने पत्ता लगाउन क्लाइमेट एट्रिब्युसन स्टडी आवश्यक हुन्छ। यस घटनामा पनि अन्तर्राष्ट्रिय वैज्ञानिकहरूसँग मिलेर र्यापिड स्टडी सुरु गर्ने तयारी भइरहेको उनले बताएका छन्।
विश्वव्यापी तापक्रम वृद्धि र हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिमनदी पग्लिने, हिमतालको आयतन बढ्ने तथा हिमताल विस्फोटको जोखिम बढ्ने विषयमा वैज्ञानिकहरूले यसअघि नै चेतावनी दिँदै आएको उनले उल्लेख गरेका छन्।
ढकालले रसुवा बाढीले नेपालका हिमाली तथा पर्वतीय क्षेत्रमा पूर्वसूचना प्रणाली र विपद् पूर्वतयारीलाई थप बलियो बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन्। विज्ञान, प्रविधि र अध्ययन–अनुसन्धानलाई विपद् व्यवस्थापनसँग जोड्न सके भविष्यमा यस्ता घटनाबाट हुने जनधनको क्षति घटाउन सकिने उनको भनाइ छ।
उनले हिमाली क्षेत्रमा हुने विपद्को जोखिम न्यूनीकरणका लागि नेपालसँगै चीनलगायत सम्बन्धित मुलुकबीच क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्नुपर्नेमा समेत जोड दिएका छन्। जलवायु परिवर्तनका कारण चरम मौसमी तथा अन्य विपद्का असर बढ्दै गएकाले राष्ट्रियस्तरमा अनुकूलन, पूर्वसूचना र विपद् पूर्वतयारीमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।
प्रकाशित: १३ भाद्र २०८३ १४:४४ शनिबार