यस वर्ष मध्य वर्षामा समेत मौसमविद्हरूले अनुमान गरे भन्दा कम वर्षा भएको छ। यद्यपि वर्षा याम अझै सिद्धिएको छैन।
वरिष्ठ मौसमविद् गोविन्द झाका अनुसार वर्षायाम भरि हुने कुल वर्षाको ४० प्रतिशत वर्षा शुक्रबार सम्म भइसक्नु पर्ने थियो। शुक्रबारसम्म ४० प्रतिशत वर्षा भएको भए यस वर्ष सरदर वर्षा हुने थियो। तर, शुक्रबारसम्म ३५ दशमलव ६ प्रतिशत मात्र वर्षा भएको छ।
झाका अनुसार हालसम्म देशको अधिकांश भागमा सरदर भन्दा कम वर्षा भएको छ। केही थोरै ठाउँ मात्र सरदर भन्दा बढी वर्षा भएको पाइएको छ।
‘यद्यपि वर्षायाम अझै सकिएको छैन। नेपालमा बढी वर्षा हुने जुलाई र अक्टोबर हुन। जुलाई सकिन लागेको छ। अब अक्टोबर बाँकी छ। अक्टोबरमा के हुन्छ हेरौँ’ उनले भने।
बङ्गालको खाडीमा मनसुन प्रणाली जति मात्रामा उत्पत्ति हुनु पर्ने हो त्यति उत्पत्ति नहुनु, वर्षा याममा मनसुन जति सक्रिय हुनु पर्ने हो त्यति सक्रिय नहुनुले सरदर भन्दा कम वर्षा भएको अनुमान मौसविद्हरूले गरेका छन्। यसैगरी न्युनचापीय रेखाको पोजिशनले वर्षाको अवस्थालाई प्रभाव पार्ने गर्छ।
यद्यपि मनसुन सुरु हुनु अघि नै मौसमविद्हरूले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने अनुमान गरेका थिए। हालसम्म मौसवीद्हरूको अनुमान फेल खाएको छ। वर्षायाम सकिए पछि पनि सरदर भन्दा कम वर्षा भएमा यस विषयमा अध्ययन हुनु पर्ने उनको भनाइ छ।
सामान्यतया नेपालमा मनसुन जुन १३ (जेठ ३०) मा भित्रिन्छ र अक्टोबर २ (असोज १६) मा बाहिरिन्छ। तर, यस वर्ष भने औसत समयभन्दा चाँडै भित्रिने मौसमविद्हरूको अनुमान छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। यसैगरी आइतबार मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
मौसमविद्हरूले ३० वर्षलाई आधार मानेर औसत वर्षा निकाल्ने गरेका छन्। पोहोर पनि नेपालमा औसतभन्दा बढी नै वर्षा भएको थियो। सामान्यतया वर्षाको करिब ८० प्रतिशत वर्षा याममै हुने गरेको छ।
मौसमविद्हरूका अनुसार नेपालमा धेरैजसो मनसुन बङ्गालको खाडीबाट भारत हुँदै नेपालमा भित्रिने गर्छ। गत वर्ष वर्षायाममा भएको वर्षाले रेकर्ड नै तोडेको थियो।
विभागका अनुसार पोहोर अर्थात् सन् २०२४ जुलाई ८ मा दोधारा चाँदनीमा २४ घण्टाको अवधिमा यति धेरै वर्षा भयो कि यस्तो वर्षा इतिहासमा कहिल्यै भएको थिएन। त्यहाँ २४ घण्टामा ६ सय २४ मिलिमिटर वर्षा भएको थियो।
यसअघि सबैभन्दा बढी वर्षा २०१७ अगस्ट १३ मा हेटौंडामा भएको थियो। त्यस दिन हेटौंडामा २४ घण्टामा पाँच सय १६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो। दोधारा चाँदनीमा भएको वर्षाको विषयमा अध्ययन गर्न मौसमविद्को एउटा टोली त्यहाँ पुगेको थियो।
टोलीले दोधारा चाँदनीमा भएको वर्षाबारे विभागलाई प्रतिवेदन पनि बुझायो। दोधारा चाँदनीमा भएको वर्षालाई मौसमविद्ले ‘आरीघोप्टे’ भनेका छन्।
एक घण्टामा सय मिलिमिटर या त्योभन्दा बढी वर्षा भए मौसमविद्ले त्यसलाई आरीघोप्टे भन्ने गरेका छन्। गत वर्ष दोधारा चाँदनीलाई मात्र नभई अरू दुईवटा स्टेसनले पनि वर्षाको रेकर्ड तोडेका छन्।
कञ्चनपुरका हनुमान नगर र सुन्दरपुर स्टेसनले पनि उक्त वर्ष सबैभन्दा बढी वर्षा भएको मापन गरेका थिए।
प्रकाशित: १० श्रावण २०८२ २०:४२ शनिबार