मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा दुई ट्रक एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
मकवानपुर प्रहरीका अनुसार बुधबार राति करिब ११:३५ बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४६४१ नम्बरको सिमेन्ट लोड ट्रक र विपरीत दिशाबाट काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ४५०१ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ४६४१ नम्बरको ट्रक चालक सिन्धुली दुधौली नगरपालिका–१४ बस्ने अन्दाजी २४ वर्षीय टुल्कु सिंह तामाङ गम्भीर घाइते भएका छन्। उनको शरीरमा बाहिरी चोट नदेखिए पनि गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
यस्तै ४५०१ नम्बरको ट्रक चालक मकवानपुर बागमती गाउँपालिका–७ बस्ने अन्दाजी ४३ वर्षीय बेलकुमार स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै ट्रक घटनास्थलमै रहेका छन् भने दुर्घटनापछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ फाल्गुन २०८२ ०८:३४ बिहीबार