समाज

चितवनमा इभि कारमा आगलागी हुँदा एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-९ बसन्तचोकस्थित पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय  कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१-०३० च ५५७९ नम्बरको इभि कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी भएको सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएर कारभित्र जाँच गर्दा हालसम्म नाम, थर र ठेगाना नखुलेका एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भूषण यादवले जानकारी दिए।

आगलागीका कारण कारमा समेत ठुलो क्षति पुगेको छ। मृतकको पहिचान खुलाउने तथा आगलागीको कारण पत्ता लगाउने कार्यका लागि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८३ ०७:५३ शुक्रबार