सप्तरीमा देवरले चलाएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी भाउजूको मृत्यु भएपछि मोटरसाइकल चालक देवर फरार भएका छन्।
घाइते अवस्थामा अस्पताल लगिँदै गर्दा उनी बीच बाटोमै एम्बुलेन्सबाट ओर्लिएर आफ्नो ठाउँमा अर्कै व्यक्तिलाई राखेर भागेको प्रहरीले खुलासा गरेको छ।
हुलाकी सडकखण्ड अन्तर्गत बलानबिहुल गाउँपालिका–६, सेहरा चोकमा सोमबार भएको दुर्घटनामा बलानबिहुल–२, दिघिया टोलकी ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको थियो।
उनका देवर गयाप्रसाद यादवले चलाएको अन टेस्ट मोटरसाइकलमा उनी र चालकका तीन वर्षीय छोरा आदित्यसमेत सवार थिए। राष्ट्रय परिचपत्र बनाउन निस्किएका उनीहरुको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनापछि तीनै जना घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर छिन्नमस्ता अस्पताल, राजविराज पठाइएको थियो। तर, गयाप्रसाद अस्पताल नपुग्दै बीच बाटोमै फरार भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले घटनाको विवरण दिँदै भने, ‘घटनास्थलबाट अस्पताल आउँदै गर्दा उनी (गयाप्रसाद) बीच बाटोमै एम्बुलेन्सबाट झरेर आफ्नो ठाउँमा अरुलाई नै चढाएर फरार भए।’
डीएसपी बस्नेतका अनुसार, मृतक शान्तिकुमारीको परिवारले चालक गयाप्रसाद यादवविरुद्ध नै किटानी जाहेरी दिएको छ। ‘जाहेरीमा उनैलाई प्रतिवादी बनाइएको छ। उनको खोजी कार्य तीव्र पारिएको छ,’ उनले भने।
उपचारका क्रममा शान्तिकुमारीको मृत्यु भएको थियो भने गयाप्रसादका तीन वर्षीय छोरा आदित्यको अवस्था सामान्य रहेको बताइएको छ। फरार हुनुअघि गयाप्रसादले छोरालाई पनि साथमै लगेका थिए।
प्रकाशित: २६ श्रावण २०८२ २०:५७ सोमबार