समाज

जुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु

जुम्लाको तिला गाउँपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

तिला गाउँपालिका-६, सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रोकायाको दाउरा सङ्कलन गर्न गएका बेला शनिबार मृत्यु भएको हो।

मृतकका बुबा भक्तबहादुर रोकायाका अनुसार उनी शनिबार बिहान सवा ७ बजे घरबाट करिब २ किलोमिटर टाढा रहेको साटले जङ्गलमा दाउरा काट्न गएका थिए।

अवेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा भिरबाट करिब १०० मिटर तल खसेर मृत अवस्थामा उनको शव फेला परेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीबाट प्रहरी वरिष्ठ हवल्दार चन्द्रबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २८ असार २०८२ १५:५९ शनिबार