सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ स्थित बटला चोकको भित्री सडकखण्डमा गएराति दुई अटो एकापसमा ठोक्किँदा एक जना घाइते भएका छन्।
मंगलबार राति करिब ११ बजे पिपिराबाट नेवारेतर्फ जाँदै गरेको क.प्र.०२-०००१ ह ०६७८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.०२-००१२२४ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा क.प्र.०२-००१ ह ०६७८ नम्बरको अटोमा सवार वीरेन्द्रनगर-१३ निवासी अन्दाजी २० वर्षीय गगन ठाडाको टाउकोमा मध्यम चोट लागेको छ। उनको प्रदेश अस्पताल, कालागाउँ, सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, अर्को अटोमा सवार जाजरकोट जुनिचाँदे गाउँपालिका-७ स्थायी घर भई हाल वीरेन्द्रनगर-१० बस्ने अन्दाजी २७ वर्षीय अनिल घर्ती मगरको अनुहार तथा दुवै हातमा सामान्य चोट लागेको छ भने सोही स्थानका अन्दाजी २२ वर्षीय महेन्द्र बस्नेतको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको छ। उनीहरू दुवैले उपचार नगरी आफ्नै इच्छाले घर फर्किएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ०६७८ नम्बरको अटोका चालक वीरेन्द्रनगर-१३ निवासी अन्दाजी २५ वर्षीय धनवीर गाहा मगरलाई नियन्त्रणमा लिइएको छ। १२२४ नम्बरको अटोका चालक भने फरार रहेकाले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
दुवै अटो प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: २० श्रावण २०८३ ०७:५७ बुधबार