सुनसरी इटहरी उपमहानगरपालिका-२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा इटहरी-२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रदेश १-०२-०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १-०२-०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकआपसमा शुक्रबार साँझ ठोक्किँदा भुजेल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी-२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएको प्रहरीले जनाएको छ। राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २१ चैत्र २०८२ ०६:१८ शनिबार