पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका-९ गुम्बाचोकमा बुधबार दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका हुन् ।
हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३-०२-००७प ७६८३ नम्बरको मोटरसाइकल र रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना४४प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ना६ख ३१४५ नम्बरको ट्रकमा ठोक्किँदा प्र३-०२-००७प ७६८३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत हेटौँडा उपमहानगरपालिका-९ निवासी १९ वर्षीया एकता वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते वैद्यलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोगटीले बताए ।
सोही दुर्घटनामा परी प्र३-०२-००७प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँटा उपमहानगरपालिका-४ कर्राका १९ वर्षीय रोनिक कार्की र ना४४प ९३५४ नम्बरको मोटरसाइक चालक चितवनको इच्छाकामना गाउँपालिका-५ बदेलटारका २१ वर्षीय पुष्पालाल गुरुङ घाइते भएको छन् । उनीहरू दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोगटीले बताए ।
दुवै मोटरसाइकल र ट्रक तथा ट्रकचालक बाँकेको कोहलपुर नगरपालिका–१४ निवासी ३३ वर्षीय बद्री गडरियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रकाशित: १८ चैत्र २०८२ १४:४१ बुधबार