समाज

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

सोमबार पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र.–०२–००१ ह १६५७ नम्बरको अटो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोमा चालकसहित तीनजना सवार थिए। घाइते तीनैजनालाई प्रहरीले उद्धार गरी दुल्लु अस्पताल पुर्‍याएको थियो।

दुर्घटनामा गम्भीर घाइते दुल्लु नगरपालिका–२ का ७४ वर्षीय राम कामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अटो चालक भैरवी गाउँपालिका–२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ का ६५ वर्षीय गजबहादुर कामीको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८३ १७:२६ सोमबार