समाज

राष्ट्रपति रनिङ शिल्डमा भाग लिन हिँडेका विद्यार्थी सवार जिप दुर्घटना, एकको मृत्यु

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-७, छिर्लिंग खोला नजिकै जिप दुर्घटना एक जनाको मृत्यु भएको छ ।  

राष्ट्रपति रनिङ शिल्डमा भाग लिन हिँडेका विद्यार्थी सवार जिप दुर्घटना सवारी चालकको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, मृत्यु हुनेमा भूमिकास्थान–१० धनचौर निवासी ४५ वर्षीय रुद्रबहादुर बुढा मगर छन्। लु २ च ५१७९ नम्बरको जिप धनचौरबाट विद्यार्थी बोकेर नुवाकोट जाँदै थियो। जिप भुमिकास्थान नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिंग शील्ड प्रतियोगितामा भाग लिन जाँदै गर्दा दुर्घटना भएको हो।

दुर्घटनामा जन जागृति मावि धनचौरमा अध्ययनरत विद्यार्थी र शिक्षक पनि घाइते भएका छन्। डीएसपी दिवस जिसीका अनुसार, घाइतेमध्ये ३ जनालाई बुटवल रिफर गरिएको छ भने ११ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ।

जिप सडकदेखि करिब ६० मिटर तल खसेको छ । साँघुरो कच्ची सडक र घुम्ती भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

प्रकाशित: ११ पुस २०८२ १७:१७ शुक्रबार