स्याङ्जाको भीरकोटमा बिहीबार साँझ विवाहको भोज खाएर फर्कँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दुर्घटनामा परी पुतलीबजार नगरपालिका-१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। गम्भीर घाइते भएका गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार भीरकोट-३ बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ जाँदै गरेको ग १ ज ७६१० नम्बरको जीप भीरकोट-१ स्थित करूङ बयरघारी केगा भित्री सडकखण्डमा दुर्घटनामा परेको थियो।
घुम्तीमा अचानक स्टेरिङ लक भएपछि अनियन्त्रित भई जीप सडकबाट करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका ११ जनाको भीरकोट नगर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाग्रस्त जीप र चालक खेमप्रसाद गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: ८ आश्विन २०८३ २०:३५ बिहीबार