समाज

सफा गर्ने क्रममा बन्दुक पड्किँदा एकको मृत्यु

संखुवासभामा बन्दुकसहित एक पक्राउ

धनकुटाको महालक्ष्मी नगरपालिका-९ खाल्डे कटहरेमा सफा गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।

स्थानीय ४७ वर्षीय रामकृष्ण थापाको भरुवा बन्दुक पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार घरमा राखिएको एकनाले भरुवा बन्दुक सफा गर्ने क्रममा अचानक पड्किएपछि उनी गम्भीर घाइते भएका थिए। थापाले बन्दुकको नाल सफा गर्न बारुद लोड भएको अवस्थामा नाललाई आगोमा तताएका थिए। त्यसपछि मुखले फुकेर नाल सफा गर्ने प्रयास गर्दा बन्दुक अचानक पड्कियो र बन्दुकबाट निस्किएको बारुद उनको मुखमा लागेर उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घटनापछि तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति चिकित्सकले थापालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी जितपुरको टोलीले घटनास्थल पुगेर एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त बन्दुक बाँदर धपाउनका लागि घरमा राखिएको हुन सक्ने देखिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका-६ मगर टोलबाट भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय ३५ वर्षीय विनय मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाको टोलीले पक्राउ परेका मगरको घरछेउमा रहेको कागतीको झाडीमा लुकाइछिपाई राखेको अवस्थामा १ थान लोड गरिएको भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

मगरलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ १२:१७ शनिबार