बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
प्रहरीका अनुसार ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ।
घाइते शाहीलाई उपचारका लागि लगिएकोमा बिहान १०ः०८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ।
कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
उक्त कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियार निवासी करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १०ः१५ बजेबाट पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ७ कार्तिक २०८३ १३:२७ शनिबार