समाज

नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी

वीरगञ्जस्थित नारायणी अस्पतालबाट आइतबार बेलुका एक दिने नवजात शिशुलाई चोरी गरिएको घटना सार्वजनिक भएको छ।

सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एक दिने छोरालाई अस्पतालको गाइनो वार्डबाट अपरिचित महिलाले लिएर गएको पर्सा प्रहरीले जनाएको छ।

अस्पतालको गाइनो वार्डको बेड नम्बर ११ मा भर्ना रहेका शिशुलाई सरसफाइ कर्मचारीको रूपमा आएकी एक महिलाले खेलाउने बहानामा लिएर गएकी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताएका छन्। नवजात शिशु चोरी गरेर भागेकी ती महिलालाई खोज्ने कर्य भैरहेको उनले बताए।  

शिशुकी हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीका रूपमा काम गर्ने गरेको बताउँदै बच्चासँग नजिकिएकी थिइन्। आफूले बच्चाको हेरचाह गरिरहेको समयमा अस्पतालका सुरक्षा गार्डले गाइनो वार्डमा बस्न नदिएपछि आफू बाहिर गएको र सोही समयमा महिलाले बच्चालाई लिएर गएको उनले बताइन्।

एक दिने नवजात शिशु अस्पतालबाटै हराएपछि परिवार जनमा त्रास र चिन्ता बढेको छ।

प्रकाशित: १५ भाद्र २०८३ ०८:०० सोमबार