समाज

काठमाडौं आउँदै गरेको बसमा चेकजाँच, नागढुंगाबाट एक जना पक्राउ

काठमाडौंको नागढुंगामा प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७:३० बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गरिएको थियो।

प्र.१-०२-००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो।

जाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका-१४ बस्ने २९ वर्षीय जोनाम लामाको साथबाट प्लास्टिकसहित १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लामालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ११:३१ आइतबार