मकवानपुरको बागमती गाउँपालिकामा काका र हजुरबुबासँग विवाद भएपछि एक युवकले घर तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति करिब ११ः५५ बजे बागमती गाउँपालिका–८ साततल्ले बस्ने २२/२३ वर्षीय निसान पाख्रिनले मादक पदार्थ सेवन गरी काका बुद्ध भन्ने मिलन पाख्रिन र हजुरबुबा रामबहादुर पाख्रिनसँग विवाद गरेका थिए।
विवादका क्रममा पाख्रिनले काकाको जस्ताले छाएको, इँटा र सिमेन्टबाट बनेको चारकोठे भुइँतले घरको ढोका तथा झ्यालमा तोडफोड गर्नुका साथै घरमा रहेको ना.४२ प ६३६६ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, उनले नजिकै रहेको हजुरबुबा रामबहादुर पाख्रिनको घरको झ्याल तथा ढोकामा समेत तोडफोड गरी कुटपिट गरेको बताइएको छ।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक सुनिल थापाको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले कुटपिट तथा तोडफोडमा संलग्न निसान पाख्रिनलाई नियन्त्रणमा लिएको छ।
कुटपिटबाट रामबहादुर पाख्रिनको टाउको, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको र उनी मध्यम घाइते भएको प्रहरीले जनाएको छ। उनलाई स्थानीय साम्भि पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
आगजनीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २१ भाद्र २०८३ ११:४१ आइतबार