समाज

सुदूरपश्चिममा ‘ओल्के’ को रौनक, प्रदेशमा सार्वजनिक बिदा

भदौ संक्रान्तिका दिन मनाइने ‘ओल्के’ सुदूरपश्चिमवासीको महत्वपूर्ण मौलिक पर्व हो। दैविक प्रकोप, महामारीबाट बाँचेको खुसियालीमा भदौ १ गते ओल्के पर्व मनाइने गरिन्छ। आफूभन्दा मान्यजनलाई अन्न, मिठो परिकार, फलफूल लगायतको उपहार दिएर यो पर्व मनाउने चलन छ। सुदूरपश्चिममा आज ओल्के पर्वको रौनक छाएको छ। विभिन्न लोक संस्कृति, परम्परा र मौलिक पर्व लगायतकाले सुदूरपश्चिमको पहिचान भल्काउने गरेको छ।

ओल्केका दिन मिठो परिकार पकाउने गरिन्छ। सुरुमा देवता, पितृलाई पकाएको मिठो परिकार, अन्न र फलफूल चढाउने चलन छ। आफूभन्दा मान्यजनलाई फलफूल, खानेकुरा लगायतका उपहार दिनुलाई ओल्के दिएको भनिन्छ। पिँडालुका पात, काँक्रा, भान्टा, मुला, दही र हरियो सागपात आफन्तजनलाई ‘ओल्को’ दिने चलन रहेको छ।

यस दिन प्रत्येक गाउँ र वस्ती नजिकको डाँडोमा बिरुवाको हाङ्गा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाएर ‘बुढी’ बनाउने चलन छ। असौज १ गते बुढी पोल्ने पर्वको रूपमा मनाईन्छ।

ओल्के पर्व सुदूरपश्चिम, मध्यपश्चिमका केही ठाउँमा र भारतको कमाउँ क्षेत्रमा समेत मनाइने चलन रहेको संस्कृतिविद् तीर्थराज पाण्डेयले बताएका छन्।  

सुदूरपश्चिमको एक विशिष्ट मौलिक सांस्कृतिक पर्व ‘ओल्के संक्रान्ति’ हो। भारतको कुमाउँ क्षेत्रमा ’घ्यु सक्रान्ति’का रूपमा मनाइने उनले बताए।

‘गाउँभन्दा अलि पर, अग्लो डाँडा वा सार्वजनिक स्थानमा स्थानीय भाषामा ’झिँगडा’ भनिने बुट्यान तथा काँढाका हाँगाहरू थुपारेर ’बुढी’ बाध्ने गरिन्छ,’ पाण्ड्यले भने, ‘महिनाभरि सुकेपछि असोज १ गते सङ्क्रान्तिका दिन यसलाई पोल्ने (जसलाई ’बन्ढुनी’ पर्व पनि भनिन्छ) गरिन्छ।’

ओल्के पर्वको मुख्य आकर्षण भनेकै मान्यजन र ज्येष्ठ नागरिकहरूप्रति दर्शाइने श्रद्धा र आदर हो। यस दिन आफूभन्दा ठूलाबडा, आफन्त र मान्यजनलाई सागपात, फलफूल, दूध, दही वा आफ्नो क्षमता अनुसारको उपहार ‘ओल्को’ दिएर ढोग–भेट गरी आशिर्वाद लिने गरिन्छ।

सांस्कृतिक रूपमा सुदूरपश्चिममा चाड पर्व र उत्सवको नयाँ मौसमको सुरुवात रूपमा पनि यो पर्वलाई मानिएको छ।

आजैका दिनदेखि गौरा पर्व, भुवा पर्व, तीज, र दशैँ–तिहार जस्ता ठूला पर्वहरूसँगै स्थानीय जात्राहरूमा खेलिने डेउडा, चैत, धुमारी, ढुस्को, फाग, सगुन, झोडा, र न्याउले जस्ता लोकभाका तथा देवीदेवता र राजा–महाराजाहरूका वीरगाथा गाउने क्रमको औपचारिक शुभारम्भ हुने संस्कृतिविद् पाण्डेयले बताए।

सुदूरपश्चिमबाट बसाइँसराइ गरेर अन्यत्र विश्वका जुनसुकै ठाउँमा गएको भए पनि पनि उनीहरूले समेत यो पर्वलाई धुमधामसँग मनाउने गरेको पाइएको उनी बताउँछन्।

सुदूरपश्चिमको मौलिकता बोकेको ओल्के पर्व सुदूरपश्चिवासीको लागी पहिचालन झल्काउने महत्वपूर्ण पर्व रहेको संस्कृतिका बारेमा जानकार प्रदेश सरकारका पूर्वमन्त्री पूर्णा जोशीले बताइन्। ससबै चाडपर्वको दैलो(ढोका) उघार्ने पर्व समेत हो। यो पर्व सुदूरपश्चिमवासीको पहिचानको रूपमा रहेको उनको भनाइ छ। यो पर्व लगत्तै गौरा पर्व मनाइन्छ। एकपछि अर्को चाडपर्वहरूको नागरिकका घरदैलोमा आगमन हुने गर्छ।

आफ्नो खेतबारीमा उजिएका कृषि उपजहरू आफूभन्दा जेठो र मान्यजनलाई उपहार (ओल्को) दिएर ओल्के पर्व मनाइने गरेको उनले बताइन्। हाम्रो पुर्खाको इतिहास, प्रकृतिसँगको सामीप्यता र सामाजिक एकता कायम गर्न पनि यसको महत्व रहेको छ।

‘सबै पर्वको दैलो उघार्ने पर्वका रूपमा यो पर्व मनाइन्छ, यो मौलिकता हाम्रो पहिचान पनि हो,’ उनले भनिन्, ‘यसको संरक्षण र हस्तान्तरण पनि हाम्रो जिम्मेवारी हो।’

पहिला जीविकोपार्जनको माध्यम नै कृषि थियो। उत्पादन नभएमा भोकमरी हुन्थ्यो। खेतवारीमा उत्पादन भएको खुसीको रूपमा पनि यो पर्व मनाउने चलन रहेको छ।

यसका साथै बिहानै स्नान गरेर कृषिसँग सम्बन्धित औजार पनि आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि चलन रहेको छ।  

वर्षातमा बाढी, पहिरो, चट्याङ जस्ता दैवी प्रकोप र हैजा, झाडापाखाला, ज्वरो लगायतका महामारीको संकटबाट बचेको खुसियालीको रूपमा पनि यो पर्व मनाउने गरिने संस्कतिका जानकार दलबहादुर बोहराले बताए।

‘यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ,’ उनले भने।  

वर्षामा काम गर्दा काँडा गडेको र ठेस लागेको ठाउँमा ढुंगामाटो निकाल्न सजिलो होस् भनेर उपहारमा चिम्टा पनि दिने चलन छ।  

सुदूरपश्चिममा सार्वजनिक बिदा

यसैबीच, ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सोमवार प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ। प्रदेशभरी धुमधामसँग ओल्के पर्व मनाइदैछ। बिहानैदेखि स्नान गरेर घर घरमा मिठो परिकार पकाएर, खेतबारीबाट कृषि उत्पादन ल्याएर र मान्यजनकाहाँ ‘ओल्को’ दिएर ढोकभेट गरेर उल्लासपूर्ण रूपमा मनाइरहेको स्थानीयले बताएका छन्।

प्रकाशित: १ भाद्र २०८३ १३:०३ सोमबार