समाज

देशका सात जिल्लामा सात जना मृत फेला

देशका छुट्टाछुट्टै सात जिल्लामा आइतबार सात जना मृत अवस्थामा फेला परेका छन्। ओखलढुंगा, कञ्चनपुर, झापा, दाङ, कपिलवस्तु, रूपन्देही र सिराहाका विभिन्न स्थानमा उनीहरू मृत फेला परेका हुन्।

प्रहरीका अनुसार ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ खुजिङ्कुनास्थित सुनकोशी नदीमा काभ्रे मण्डनदेउपुर गाउँपालिका-७ कुन्तावेशी बस्ने ६७ वर्षीया तिल कुमारी पराजुली मृत भेटिएकी छन्।

यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका-६ ढक्कास्थित खुल्ला चौरमा सोही वडाको चान्देव शिविर बस्ने ५९ वर्षीय रनी साउद मृत अवस्थामा फेला परेका छन्।

झापाको शिवसताक्षी नगरपालिका-८ रत्नचोकका ४५ वर्षीय धर्मलाल रिजाल सोही ठाउँस्थित धान खेतमा मृत भेटिएका छन्। यस्तै, दाङको गढवा गाउँपालिका-६ स्थित बारीमा घोराही घर भई मनिकापुर हुलाके टोल बस्ने ६५ वर्षीया बचनी देवी विक मृत अवस्थामा फेला परेकी छन्।

यसैगरी, कपिलवस्तुको बुद्धभुमि नगरपालिका-२ स्थित तिलौराकोट सामुदायिक जंगलमा कपिलवस्तु नगरपालिका-३ देवनगडिया बस्ने ६५ वर्षीय किरण सिंह मृत फेला परेका छन्।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-५ जनएकता टोल नजिकै तिनाउ खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी १६ वर्षीय बालक मृत भेटिएका छन्।

त्यस्तै, सिराहाको विष्णुपुर गाउँपालिका-२ राजपुर कौवाका ६० वर्षीय रमेश्वर महरा सोही ठाउँस्थित सडकमा मृत फेला परेका छन्। यी सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १५:०३ सोमबार