रसुवागढीस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई सघाउन नेपाल आयल निगमले प्रभावित क्षेत्रमा ४० हजार लिटरभन्दा बढी हवाई इन्धनसहित ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ।
भदौ १० गतेदेखि नै सरकारका विभिन्न निकायहरूसँग समन्वय गरी निगमले इन्धन आपूर्तिलाई तीव्रता दिएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार उद्धार कार्यमा संलग्न हेलिकोप्टरहरूको रिफिलिङका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमार्फत भदौ १३ गतेसम्म कुल ४० हजार ८४० लिटर हवाई इन्धन पठाइएको छ।
जसअन्तर्गत भदौ १० मा १२ हजार लिटर, ११ गते १० हजार ८४० लिटर (ट्यांकरबाट ९ हजार र हेलिकोप्टरमार्फत १ हजार ८४० लिटर), १२ गते ९ हजार लिटर र १३ गते ९ हजार लिटर हवाई इन्धन उपलब्ध गराइएको छ।
त्यस्तै, उद्धार कार्यलाई सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रका पेट्रोल पम्पहरूलाई भदौ १३ सम्म ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको छ।
उपभोक्ता तथा उद्धार टोलीको मागलाई ध्यानमा राखी सार्वजनिक बिदाका दिनसमेत इन्धन बिक्री वितरणको प्रबन्ध मिलाइएको निगमले जनाएको छ।
खोज तथा उद्धारपछि सेल्टरमा राखिएका बाढीपीडितहरूका लागि खाना पकाउने एलपी ग्यासको समेत व्यवस्था गरिएको छ।
निगमको समन्वयमा नेपाल ग्यास उद्योग बालाजुबाट भदौ १० गते नुवाकोटमा २३२ थान र नेपाल एलपी ग्यास उद्योग संघमार्फत भदौ १० र १३ गते नुवाकोट तथा रसुवाका लागि १५० थान भरी सिलिन्डर राहतका रूपमा पठाइएको छ।
राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व वहन गर्दै आगामी दिनमा पनि खोज, उद्धार र राहत कार्यमा थप सहयोग तथा सहकार्य जारी राख्ने निगमले प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित: १३ भाद्र २०८३ १६:३३ शनिबार