नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार प्रत्येक उद्योगले कुन विक्रेतालाई कति परिमाणमा ग्यास पठाइएको हो भन्ने विवरण सार्वजनिक गर्नुपर्नेछ। साथै सम्बन्धित विक्रेताको ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी तोकिएको समयसीमाभित्र जानकारी सार्वजनिक गरेर निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
हाल मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको आपूर्तिमा चुनौती थपिएको अवस्थामा आन्तरिक बजारलाई व्यवस्थित बनाउन यस्तो समयसीमा तोकिएको निगमले जनाएको छ।
यससँगै विक्रेताले पनि उपभोक्तालाई बिक्री गरेको ग्यासको अभिलेख राख्नुपर्नेछ। बिक्री विवरणमा उपभोक्ताको नाम, सम्पर्क नम्बर र बिक्री गरिएको ग्यासको परिमाण स्पष्ट उल्लेख गरी सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ।
आम उपभोक्ताको माग सम्बोधन गर्न निगमले हाल आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यास ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरिसकेको छ।
निगमका अनुसार बिहान १० बजेसम्म सबै विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाले ग्यास वितरण प्रणालीमा पारदर्शिता ल्याउने र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ २०:१७ शनिबार