समाज

एनआरएनएको १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा काठमाडौंमा हुने आफ्नो १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठकले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

उक्त समितिमा संघका संस्थापक सचिव चिन्जीबी ढकाल (बेलायत) सहित टिवी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन्।

यसैगरी, बैठकले निर्वाचन प्रक्रियाको अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरेको छ।

समितिमा संजय थापा, टेकराज निरौला, कमलमणि गुरागाईं, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ सदस्य छन्।

त्यस्तै, भिम उदास, भक्त गुरुङ, डा. देवी बस्नेत, ओम गुरुङ, समशेर थापा, यास्मीन बेगम र पुरुषोत्तम बोहोरा सदस्य रहेको न्यायिक समिति पनि गठन गरिएको संघले जनाएको छ।

संघको विधानअनुसार अन्तर्राष्ट्रिय महाधिवेशन हुनुभन्दा तीन महिनाअगावै यी समितिहरू गठन गर्नुपर्ने प्रावधान रहेको छ। संघको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा आयोजना हुँदैछ।

आईसीसी बैठकमा संघका केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २८ असार २०८२ १९:०३ शनिबार