अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।
विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ।
प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ।
एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ।
यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ्ने गरेकामा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए।
उनका अनुसार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूले नागरिक एपबाटै प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन्।
प्रकाशित: २६ भाद्र २०८३ १६:०७ शुक्रबार



