समाज

मनास्लु पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

फाइल तस्बिर

उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन्।  

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार गत वर्ष साउनदेखि असार मसान्तसम्म एक वर्षको अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५१२ विदेशी पर्यटक घुम्न आएका उनले बताए। ‘यो सङ्ख्या हालसम्मकै सर्वाधिक हो, मनास्लु क्षेत्रमा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ,’ प्रमुख शेरचनले भने।  

मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन्। सोही अवधिमा ११ नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन्। मनास्लु क्षेत्रमा आव २०८०/८१ मा नौ हजार ७८३ विदेशी पर्यटकले भ्रमण गरेका थिए। अघिल्लो आवको तुलनामा गत आवमा झण्डै दुई हजार ७२९ बढी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए।  

‘मनास्लु क्षेत्र जाने पदमार्ग अहिले सहज र सुरक्षित बनेको छ, पदमार्गको प्रचारप्रसार हुँदै गएको छ, त्यहाँ पुग्ने पर्यटकलाई खान र बस्न सुविधासम्पन्न होटल निर्माण भएकाले पनि पर्यटकको सङ्ख्या बढ्न थालेको हो,’ एमक्यापका प्रमुख शेरचनले भने।  

गत आवमा मनास्लु घुम्न पुग्ने विदेशी पर्यटकमध्ये फ्रान्सका सबैभन्दा बढी थिए। फ्रान्सका सात सय ६३ पुरुष र ६ सय ४४ महिलाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए। त्यसबाहेक धेरैजसो जर्मनी, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, इजरायल, बेलायत, अष्ट्रेलिया, स्पेन, रुस, क्यानडालगायत देशका पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। मनास्लु क्षेत्रमा आव २०७९/८० मा सात हजार ७५०, आव २०७८/७९ मा दुई हजार २२२ विदेशी पर्यटक घुम्न आएका थिए। रासस

प्रकाशित: ४ श्रावण २०८२ ०६:३२ आइतबार

#NagarikNews #NepaliNews