नुवाकोट र रसुवामा हिमताल विस्फोटन भएर पुनः ठूलो बाढी आउन सक्ने भन्दै फैलिएका हल्लाप्रति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ध्यानाकर्षण गराएको छ।
शुक्रबार राति ८:४० बजे सूचना जारी गर्दै प्राधिकरणले चिनियाँ समकक्षी निकायसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले पुष्टि नभएका सूचना र हल्लाका आधारमा नआत्तिन तथा संयमित रहन आग्रह गरेको छ। बाढीको सम्भावना देखिएमा एसएमएसमार्फत पूर्वसूचना जारी गरिने जनाएको छ।
थप जानकारी आवश्यक परे प्राधिकरणको टोल फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रकाशित: १९ भाद्र २०८३ २१:२१ शुक्रबार