समाज

गृह मन्त्रालय प्रवेशमा रोक लगाएपछि बच्चासहित सिंहदरबार गेटमै धर्ना बसिन् निहारिका

गृहमन्त्री सुधन गुरुङसमक्ष आफ्ना समस्या राख्ने उद्धेश्यले सिंहदरबार पुगेकी निहारिका राजपुत प्रवेशमा रोक लगाएपछि आफ्नो पाँच वर्षको बच्चासहित सिंहदरबारको मुख्य गेटमै धर्नामा बसेकी छन्। झमझम पानी परिरहेका समय उनी र बिनु यादव बच्चासहित गेट अगाडी भुइँमै धर्ना बसेका हुन्।  

प्रवेशमा रोक लगाएपछि बिनु यादव विरोधस्वरूप सडकमै सुतेर प्रदर्शनमा उत्रिएकी थिइन् भने निहारिका आफ्नो नाबालक छोरालाई काखमा च्यापेर वर्षाको बीचमा गेटबाहिर बसेकी थिइन्।

विगतमा ‘कुमारी आमा’का रूपमा चर्चामा आएकी निहारिका र घरेलु हिंसापीडित यादव गृह मन्त्रालय जान पुगेका थिए। उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक महिला सांसदमार्फत सिंहदरबार प्रवेशका लागि पास उपलब्ध गराइएको बताइएको छ।

तर, पास हुँदाहुँदै पनि प्रहरीले माथिबाट आएको आदेश भन्दै सिंहदरबारभित्र प्रवेश गर्न नदिएको निहारिकाले आरोप लगाइन्। उनले आफूहरू पनि नागरिक भएकाले आफ्ना गुनासा सम्बन्धित निकायसमक्ष राख्न पाउनुपर्ने भन्दै सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिन्। निहारिकाले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनकपुर सभाका क्रममा गरेको प्रतिबद्धता सम्झाउँदै सिंहदरबार सर्वसाधारणका लागि अझै टाढा रहेको बताइन्।  

प्रहरीले दुवैलाई गेटबाट केही पर सारेर बस्न आग्रह गरेको भए पनि पक्राउ भने गरेन। 

प्रकाशित: २९ असार २०८३ १५:४२ सोमबार