समाज

गैसस महासंघका अध्यक्ष भन्छन्: हल्ला होइन, तथ्यमा आधारित धारणा बनाऔँ

गैरसरकारी संस्था महासङ्घ नेपालले पछिल्ला दिनमा सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत गैरसरकारी संस्थाको भूमिका र योगदानबारे फैलाइएको भ्रामक जानकारीप्रति आपत्ति जनाउँदै तथ्यमा आधारित धारणा बनाउन सबैलाई आग्रह गरेको छ।

महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले भने, ‘नेपालका गैरसरकारी संस्थाहरू पनि यसै समाजका अंग हुन् । परम्परा, नीति, ऐन र कानुनी संरचनाभित्र निर्माण भएका संस्था हुन्। समस्या वा कमजोरी देखिए कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्छ । भ्रम र हल्लामार्फत होइन।’

भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालमा भड्किला, होच्याउने र बिना तथ्यका टिप्पणीहरू बढ्दै गएको उल्लेख गर्दै त्यसले समाजमा नकारात्मक प्रभाव पारिरहेको बताए। यस्ता प्रवृत्तिले युवापुस्तामा गलत सोच र अविश्वास फैलाउने खतरा देखिएको उनको भनाइ छ ।  

अध्यक्ष भट्टराईले एक नोट जारी गर्दै नेपालको सामाजिक संरचनामा गुठी, पर्म, मेलापात, टोल विकास समिति, आमा समूह, युवा क्लब, उपभोक्ता समूहजस्ता सामुदायिक संस्थाहरूको ऐतिहासिक परम्परालाई नै पछिल्ला वर्षहरूमा निरन्तरता दिएको बताएका छन्।  

उनले भने, ‘हरेक संस्थाले वार्षिक अडिट, परियोजना स्वीकृति, लेखापरीक्षण र सरकारी अनुगमनका आधारमा काम गर्छन्। वैदेशिक सहयोग पनि अर्थ मन्त्रालय, समाज कल्याण परिषद् र नेपाल राष्ट्र बैंकको अनुमति बिना खर्च गर्न पाइँदैन।’

जनआन्दोलन, भूकम्प, कोभिड–१९ महामारी तथा बाढी–पहिरोका समयमा गैर सरकारी संस्थाले अग्रपंक्तिमा रहेर उद्धार, राहत र पुनर्निर्माणमा उदाहरणीय भूमिका खेलेको बताउँदै उनले गैरसरकारी संस्थाहरू राज्यका विपक्षी नभइ विकासका सहकार्यी र साझेदार भनेर बुझ्नुपर्ने बताए ।  

सबै नागरिकलाई तथ्य र प्रमाणका आधारमा मूल्यांकन गर्न आग्रह गर्दै उनले सबैको साझा दृष्टिकोणलाई आत्मसाथ गरेर, विरोध नभइ  उत्तरदायी साझेदारीको संस्कार अंगिकार गर्न आग्रह गरेका छन् । 

प्रकाशित: २६ आश्विन २०८२ १४:३९ आइतबार