समाज

सडक ठप्प हुँदा रसुवामा बिचल्ली : खाद्यान्न हाहाकार, विपन्नलाई उपचार पाउनै मुस्किल

भोटेकोसी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीयको जनजीवन अत्यन्तै कष्टकर बनेको छ।

बाढी गएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालन नहुँदा स्थानीयले राहतभन्दा सडकको माग गरेका छन्। सडक नहुँदा जिल्लामा खाद्यान्न संकट गहिरिनुका साथै गरिब बिरामी गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ।

सडक सञ्जाल विच्छेद हुँदा जटिल प्रकृतिका बिरामी सबैभन्दा ठूलो मारमा परेका छन्। आकस्मिक उपचारका लागि हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन, जुन विपन्नको पहुँच बाहिर छ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ भन्छन्, ‘जटिल बिरामी पर्दा पैसा हुने हेलिकप्टरमार्फत काठमाडौं जान्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैले जति सक्दो चाँडो सडक खुलाउनुको विकल्प छैन।’

भौगोलिक रूपमा विकट यस क्षेत्रका किसानले वर्षभरिको खर्च धान्न व्यावसायिक रूपमा लगाएको तरकारी सडक अभावमै बजार पुर्‍याउन सकेका छैनन्।

रसुवाको गत्लाङमा फलेको लाखौं मूल्य बराबरको बन्दाकोपी (काउली) बारीमै कुहिएको छ। 

‘बाढी गएको एक महिना बित्यो। राहतले केही महिना पुग्ला तर सधैं पुग्दैन,’ गत्लाङका स्थानीय फुर्पु सिंगी तामाङले भनिन्, ‘कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुब्यो। त्यसैले अहिले राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ।’

लामो समयदेखि सडक अवरुद्ध हुँदा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको छ।

रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङका अनुसार सडक नहुँदा सामान ल्याउनै मुस्किल छ भने ढुवानीमै प्रत्येक पटक ५० हजारभन्दा बढी खर्च लाग्ने गरेको छ।

उनी पनि सरकारले राहत बाँड्नुभन्दा तत्काल सडक सञ्जाल जोडिदिए व्यापारी र उपभोक्ता दुवैलाई सहज हुने बताउँछन्। अर्का स्थानीय व्यवसायी सुन्दर श्रेष्ठ पनि पहिले सस्तो ढुवानीमा सहजै भित्रिने सामान अहिले ल्याउनै नसकिने अवस्थामा पुगेको गुनासो गर्छन्।

यता, स्थानीय प्रशासनले भने सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नुवाकोट र अन्य क्षेत्रबाट एस्काभेटर (डोजर) ल्याएर सडक खुलाउने काम निरन्तर भइरहेको छ।

प्रजिअ पाण्डेले भने, ‘सडक खुलाउने काम भइरहेको छ। डाइभर्सन तथा पुल बनाउन केही समय लाग्ने देखिएको छ। निरन्तरको वर्षाका कारण काममा केही ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वय तथा सहकार्यमा सडक खुलाउन तीव्र रूपमा काम भइरहेको छ।’ रासस

प्रकाशित: १० आश्विन २०८३ २१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App