प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूलाई जोडेर सम्प्रेषण गरिएका समाचारहरू भ्रामक, झुठा र कपोलकल्पित भएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश डा शर्माले जनतामा भ्रम छर्ने दूषित उद्देश्यले यस्ता भ्रामक समाचारहरू प्रचार गरिएको उल्लेख गरेका छन्।
सञ्चारमाध्यममा आएका त्यस्ता समाचारबाट आफू आश्चर्यमा परेको बताउँदै उनले यस प्रकारका दुष्प्रचारको भर्त्सना गरे।
‘यसरी आधारहीन, झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,’ प्रधानन्यायाधीश डा. शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गर्दछु।’
यसैबीच, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले पनि केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायका साथ समाचार प्रकाशन भएको भन्दै त्यसको खण्डन गरेका छन्।
बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै न्यायाधीश फुयालले आफूविरुद्ध आएका समाचारहरू पूर्ण रूपमा झुटो र भ्रामक भएको बताए।
‘स्वतन्त्र न्यायपालिकाको रक्षा र निष्पक्ष न्याय सम्पादनमा म प्रतिबद्ध छु,’ न्यायाधीश फुयालले भने, ‘त्यस्तो समाचारमा कुनै सत्यता छैन, केवल दुष्प्रचार गर्ने र जनमानसमा भ्रम फैलाउने काम भएको छ।’
प्रकाशित: १२ कार्तिक २०८३ १९:३६ बिहीबार