समाज

अभियुक्तलाई अस्पताल लैजाँदा खिचिएको थियो भिडियो, ‘लिक’ गर्ने प्रहरीलाई फौजदारी मुद्दा !

बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका नाबालक आरोपीको भिडियो प्रहरीबाटै लिक भएको पुष्टि भएको छ।

स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको बेला गरिएको अनौपचारिक सोधपुछको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका किशोरलाई मेडिकल परीक्षणका लागि कलैया अस्पताल लगिएको थियो। सोही क्रममा चिकित्सकको प्रत्यक्ष निगरानीबाहिर हत्कडी लगाएकै अवस्थामा प्रहरीले अनौपचारिक रूपमा सोधपुछ गरी भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोमा आरोपी किशोरले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै थप एक स्थानीय व्यक्तिको नामसमेत लिएका छन्। यद्यपि, भिडियोमा गरिएको दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

गम्भीर प्रकृतिको घटनामा संवेदनशील भिडियो बाहिरिएपछि प्रहरीले आन्तरिक छानबिन गरेको थियो। अनुसन्धानका क्रममा भिडियो खिच्ने प्रहरीबाटै लिक भएको देखिएपछि प्रहरी हवल्दार कुमारलाई नियन्त्रणमा लिइएको हो।

बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका ती प्रहरीलाई हिरासतमा राखी फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी भइरहेको छ।

डिएसपी मीनबहादुर घलेका अनुसार भिडियो खिच्ने क्रममा त्यहाँ अन्य पाँच जना प्रहरीको समेत उपस्थिति देखिएको छ। ती प्रहरी अधिकारीहरूमाथि पनि अहिले सोधपुछ र सूक्ष्म अनुसन्धान भइरहेको छ।

घटनाको अनुसन्धान प्रारम्भिक चरणमै रहेका बेला नाबालक आरोपीसँग गरिएको प्रश्नोत्तर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान पद्धति र गोपनीयतामाथि पनि प्रश्न उठेको छ।

कानुनअनुसार गम्भीर आपराधिक घटना र विशेषगरी नाबालक जोडिएको मुद्दामा अनुसन्धानका क्रममा संकलन गरिने बयान तथा संवेदनशील सामग्री गोप्य राख्नुपर्ने हुन्छ।

तीन वर्षीया बालिकाको हत्या जस्तो संवेदनशील घटनामा दोषी को हो भन्ने अन्तिम निष्कर्ष अदालतबाट हुने भएकाले भिडियोलाई मात्रै आधार बनाएर निष्कर्ष निकाल्न नमिल्ने कानुनी मान्यता छ।

प्रहरीले अब वैज्ञानिक प्रमाण र अन्य तथ्यका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८३ १६:४९ सोमबार