समाज

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबिच भेटवार्ता: एक चीन नीतिमा नेपाल अडिग

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन्। साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरेकी छन्।

चिनियाँ राजदूत माओमिङले व्यस्तताका बिच शिष्टाचार भेटका लागि समय उपलब्ध गराइदिएकामा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिइन्। यस्तै राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाई दिएका छन्। नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उनले बताए।

प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता व्यक्त गरिन्। साथै विकासका विभिन्न परियोजना र आयामहरूमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरूप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरेकी छन्।

भेटका क्रममा प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष (घोडा वर्ष) का अवसरमा शुभकामना पनि आदानप्रदान गरेका थिए। 

संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको जानकारी गराइन्।

एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै उनले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्ने धारणा राखेकी थिइन्। 

चिनियाँ राजदूत माओमिङले नेपालको एक चीन नीति र अडानका लागि चिनियाँ जनता र राष्ट्रपति सी जिनपिङको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित: १५ फाल्गुन २०८२ १६:३९ शुक्रबार