भेरी अस्पताल नेपालगन्जमा सुत्केरी गराउने क्रममा चिकित्सकीय लापरबाहीका कारण नवजात शिशुको ज्यान गएको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेका छन्। उजुरीमा अस्पताल प्रशासन, ड्युटीमा रहेका चिकित्सक तथा नर्सहरूमाथि गम्भीर हेलचक्र्याइँ गरिएको दाबी गर्दै कडा कानुनी कारबाही र क्षतिपूर्तिको माग गरिएको छ।
उजुरीअनुसार विवाहपछि पहिलोपटक गर्भवती भएकी जानशी डफगरलाई केही दिनअघि गरिएको अल्ट्रासाउन्डमा गर्भमा रहेको बच्चा ‘सिंगल इन्ट्रायुटेरिन लाइभ फेटस’ रहेको र सिफालिक प्रेजेन्टेसन देखिएको उल्लेख छ। सुत्केरीको समय नजिकिएपछि उनलाई भेरी अस्पतालमा पुस २ गते भर्ना गरिएको थियो। पीडित परिवारले सम्भावित जोखिमबारे पटकपटक जानकारी गराउँदै आवश्यक परे शल्यक्रिया (अपरेशन) गर्न तयार रहेको जनाए पनि स्वास्थ्यकर्मीहरूले ‘चिन्ता लिनु पर्दैन, डाक्टर ड्युटीमै छन्’ भन्दै आश्वासन दिएको उजुरीमा उल्लेख छ।
तर सुत्केरी गराउने क्रममा बच्चा उल्टो (ब्रीच) अवस्थामा रहेको भन्दै खुट्टा पहिला बाहिर आएको र टाउको अड्किएको अवस्थालाई समयमै गम्भीरतापूर्वक नसम्हाल्दा स्थिति बिग्रिएको पीडितको आरोप छ। उजुरीमा ड्युटीमा रहेका नर्सहरूले चिकित्सकको उपस्थितिबिना बच्चाको खुट्टा पटकपटक तानेर सुत्केरी गराउँदा नवजातको स्वास्थ्य गम्भीर बनेको दाबी गरिएको छ। त्यसपछि बच्चालाई एनआइसीयू आवश्यक परेको तर भेरी अस्पतालमा तत्काल व्यवस्था नभएको भन्दै अन्य अस्पताल रिफर गरिएको उल्लेख छ।
रिफरपछि सञ्जीवनी कलेज अफ मेडिकल साइन्स, नेपालगन्जमा पुर्याउँदा केही समयमै नवजात शिशुको मृत्यु भएको जानकारी अस्पतालले दिएको उजुरीमा भनिएको छ। पीडित परिवारका अनुसार भेरी अस्पतालमा विशेषज्ञ चिकित्सकको ड्युटी तोकिएको भए पनि उनी घटनास्थलमा उपस्थित नभएको र निगरानीमा रहेका नर्सहरूले मात्रै सुत्केरी गराएको कारण यस्तो दुर्घटना भएको हो।
पीडितले ब्रीच अवस्थाको सुत्केरीमा विशेषज्ञ चिकित्सकको अनिवार्य उपस्थिति र आवश्यक परे शल्यक्रिया गर्नुपर्ने चिकित्सा मापदण्ड हुँदाहुँदै त्यसको पालना नगरिएको आरोप लगाएका छन्। घटनापछि आमाको स्वास्थ्यमा पनि मानसिक र शारीरिक असर परेको जनाउँदै पीडित परिवारले दोषी स्वास्थ्यकर्मी र सेवा प्रदायक संस्थामाथि कडा कारबाहीको माग गरेका छन्। साथै, शिशुको मृत्युका कारण पुगेको मानसिक तथा शारीरिक क्षतिको क्षतिपूर्तिस्वरूप २५ लाख रुपैयाँ भरपाइ गराइदिन पनि उजुरीमा माग गरिएको छ।
यस विषयमा भेरी अस्पताल प्रशासन र सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। प्रहरीले उजुरी दर्ता गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रशासन भन्छन् : दोषी भए कारबाही गर
भेरी अस्पतालमा उपचारका क्रममा लापरबाही भएको भए जिल्ला प्रशासन कार्यालय बाँकेले कारबाहीका लागि आदेश दिएको छ। प्रशासनले अस्पताललाई विस्तृत विवरण पेस गर्न आग्रह गर्दै समस्या समाधानका लागि प्रक्रिया अघि बढाएको छ।
स्थानीय वीरेन्द्र डफगरले अस्पतालमा उपचारको क्रममा भएको लापरवाहीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कारबाहीको माग गर्दै निवेदन दिएका थिए। वडानम्बर ११, भट्टीटोलका डफगरले जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दर्ता भेरी अस्पतालका नर्स र अस्पताल प्रशासनको कमजोरीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै कारबाहीको माग गरेका थिए।
उक्त निवेदनमा डफगरले भेरी अस्पतालमा उपचारका क्रममा देखिएका त्रुटि, स्वास्थ्य सेवा ढिलाइ, र लापरबाहीबारे विवरणसमेत समावेश गरेका छन्। उनका अनुसार अस्पतालले आवश्यक उपचार समयमा उपलब्ध गराउन असफल भएको र यसका कारण स्वास्थ्यमा जोखिम उत्पन्न भएको छ। उनको निवेदनका आधारमा प्रशासनले यस घटनामा कमजोरी भएको भए यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो।
प्रकाशित: ९ पुस २०८२ १४:३४ बुधबार