पोखराको फेवातालमा बढ्दो जल–दुर्घटना जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेलुकी ६ बजेदेखि तालमा हुने जलपर्यटन गतिविधिमा रोक लगाएको छ। अबदेखि फेवातालमा साँझ ६ बजेपछि डुंगा, कायकिङ तथा सर्फिङ सञ्चालन गर्न पाइने छैन।
पछिल्लो समय पोखरामा दिनहुँजसो हावाहुरी चल्ने, तालमा छाल उत्पन्न हुने तथा त्यसका कारण जलयात्रा जोखिमपूर्ण बन्दै गएपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
यससँगै प्रशासनले १६ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना वा एक्लै कायकिङ तथा सर्फिङ गर्न नदिन पनि निर्देशन दिएको छ। प्रशासनका अनुसार पछिल्लो समय एक्लै तालमा जलयात्रा गर्ने क्रममा दुर्घटनाको सम्भावना बढ्दै गएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार व्यावसायीले पर्यटकको मुख्य समय भएकाले साँझ ६ बजेसम्मको समयसीमा पुनर्विचार गर्न आग्रह गरे पनि सुरक्षा अवस्थालाई प्राथमिकतामा राखेर निर्णय गरिएको हो।
उनले भने, ‘यो बेला पर्यटक आगमनको मौसम भएकाले व्यवसायीको अनुरोध थियो। तर पछिल्लो समय कायकिङ र सर्फिङ बोट दुर्घटना दिनहुँजसो हुन थालेपछि जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो।’
फेवातालमा पछिल्ला वर्षहरूमा विशेषगरी युवा पर्यटकबीच कायकिङ र सर्फिङ लोकप्रिय बनेको छ। यी गतिविधिका लागि प्रयोग हुने स्ट्यान्ड अप प्याडल (सुप) बोटमा एकाएक हावाहुरी आउँदा दुर्घटनाको जोखिम बढ्ने गरेको छ। केही घटनामा मानवीय क्षति समेत भइसकेको प्रशासनको भनाइ छ।
व्यावसायिक दक्षता र सुरक्षा मापदण्डबिना सञ्चालन गरिएका गतिविधि मौसमको प्रतिकूलतामा थप जोखिमपूर्ण बनेको पर्यटन व्यवसायीहरू स्वयंले स्वीकार गर्दै आएका छन्।
पोखरामा विशेषगरी मध्यान्हपछि चल्ने हावाहुरीका कारण तालमा छाल बढ्ने र त्यसले जलयात्रालाई जोखिममा पार्ने गरेको छ। यसैबीच भारतीय पर्यटकको आगमन बढेकाले पनि तालमाथिका साहसिक गतिविधि थप व्यस्त बनेका छन्।
प्रशासनले फेवातालमा आधारित व्यवसाय सञ्चालन गर्दा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गरेर मात्रै सेवा दिन आग्रह गरेको छ। पर्यटकलाई जलयात्रा गराउँदा अनिवार्य रूपमा लाइफ ज्याकेट उपलब्ध गराउन र त्यसको प्रयोग सुनिश्चित गर्न निर्देशन दिइएको छ।
बरालले भने, ‘लाइफ ज्याकेटबिना डुंगा, कायकिङ तथा सर्फिङ पूर्ण रूपमा निषेध गरिएको छ। पर्यटक आएको मौसम भए पनि सुरक्षा सतर्कता अझ महत्वपूर्ण छ।’
यसका साथै सेवा प्रदायकले जलयात्रा सुरु गर्नुअघि सेवाग्राहीलाई डुंगा, कायकिङ तथा सर्फिङ सञ्चालन गर्ने तरिका, आकस्मिक अवस्थाको व्यवस्थापन, सुरक्षित तथा असुरक्षित क्षेत्रको जानकारी र उद्धार प्रक्रियाबारे पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनले सेवा प्रदायकलाई आफ्ना ग्राहकको गतिविधिमाथि निरन्तर निगरानी राख्न, समस्या आए तत्काल सूचना प्रवाह गर्न तथा उद्धारमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
पूर्व स्वीकृतिभन्दा बढी संख्यामा कायकिङ तथा सर्फिङ बोट सञ्चालन गर्न पनि रोक लगाइएको छ। साथै तालमा जलयात्रा गर्ने पर्यटकको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था लागू गरिएको प्रशासनले जनाएको छ।
बरालका अनुसार वर्षायाममा मौसम सामान्य देखिए पनि एक्कासी हावाहुरी, वर्षा वा चट्याङ आउन सक्ने भएकाले विशेष सतर्कता आवश्यक छ।
‘सामान्यतया मौसम प्रतिकूल भएको अवस्थामा दिउँसो दुई बजेपछि नै तालमा सयर नगर्न सुझाव दिइन्छ,’ उनले भने, ‘वर्षात्को समयमा मौसम सामान्य देखिए पनि अवस्था एकाएक बदलिन सक्छ, त्यसैले सुरक्षा सावधानी अनिवार्य छ।’
प्रकाशित: १५ असार २०८३ १८:४८ सोमबार