समाज

भोटेकोसी बाढीसम्बन्धी नयाँ खुलासा: भूउपग्रहको पूर्वसंकेतलाई बेवास्ता गर्दा धेरै क्षति

नागरिक प्रयोजनका लागि विश्वकै सबैभन्दा महँगो पृथ्वी अवलोकन भूउपग्रह मानिने निसारले नेपालको हिमालयमा विपद् निम्तिनुअघि नै जोखिमका संकेत पहिचान गरेको थियो, तर ती संकेतलाई कसैले ध्यान दिएन र समयमै कुनै पूर्वसूचना जारी भएन।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको हैदराबादस्थित नेसनल रिमोट सेन्सिङ सेन्टरका १२ वैज्ञानिकले गरेको पहिलो वैज्ञानिक अध्ययनले भोटेकोसी विपद् निम्तिनुअघि नै निसारले हिमाली क्षेत्रमा अस्थिरता देखाएको पुष्टि गरेको छ। अध्ययनले हिमनदी र चट्टानको पिण्ड भत्किनु केही साताअघि नै त्यस क्षेत्रमा परिवर्तनका संकेत देखिएको तथ्य उजागर गरेको छ।

आश्चर्यको कुरा के हो भने प्रत्येक १२ दिनको चक्रमा भूउपग्रहबाट पृथ्वीमा पठाइने तथ्यांकलाई कसैले किन निगरानी गरिरहेको थिएन। भारतीय समाचार संस्था एनडिटिभीको अनलाइन संस्करणमा प्रकाशित एक सोधमूलक समाचारका अनुसार यस घटनाले आधुनिक पृथ्वी अवलोकन प्रविधिको एउटा गम्भीर कमजोरी उजागर गरेको छ।

कुल १.३ अर्ब अमेरिकी डलर लागतको अमेरिकी अन्तरिक्ष निकाय नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको संयुक्त परियोजना निसारले हिमनदी र चट्टानको पिण्डमा भइरहेको सूक्षतम परिवर्तन पत्ता लगाएको थियो। त्यही पिण्डपछि भत्किएर विनाशकारी बाढीका कारण बनेको थियो तर उक्त भूउपग्रहले संकलन गरेको तथ्यांकको विश्लेषण विपद्पछि मात्र गरियो।

यति धेरै रकम खर्चेर उपलब्ध भएका भूउपग्रह तथ्यांकको निरन्तर निगरानी र वास्तविक समयमा विश्लेषण नगर्दा समयमै पूर्वसूचना दिनु निकै ठुलो समस्या देखिएको उक्त समाचारमा उल्लेख छ। नासा–इसरोको संयुक्त अभियानले पृथ्वीको समग्र सतहमा हुने परिवर्तनको निगरानी गर्ने उद्देश्य लिएको छ।

विज्ञहरूका अनुसार अन्तरिक्षमा महँगा भूउपग्रह पठाएर मात्र पर्याप्त हुँदैन, तथ्यांक विश्लेषण गर्ने, असामान्य परिवर्तन पहिचान गर्ने र जोखिमबारे समयमै चेतावनी दिने प्रभावकारी प्रणाली आवश्यक हुन्छ। निसारको बाँकी चार वर्षको कार्यकालमा यसको उपयोगिता प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको एनडिटिभीको समाचारमा उल्लेख छ।

रसुवा बाढीले उजागर गरेको कमजोरी

रसुवामा आएको विनाशकारी बाढी हिमालय क्षेत्रका वैज्ञानिक, विपद् व्यवस्थापन निकाय र सरकारका लागि महत्वपूर्ण पाठ बनेको छ।

भारतीय वैज्ञानिकका उक्त अध्ययनअनुसार भदौ १० (अगस्त २६) को बिहान नेपालको लाङटाङ लिरुङ हिमालको उत्तरतर्फ करिब ५ हजार १३० मिटर उचाइमा रहेको झुन्डिएको हिमनदीबाट ठुलो परिमाणमा हिउँ र पर्माफ्रोस्ट अर्थात् जमिनभित्र जमेको बरफसँग मिसिएको चट्टानको पिण्ड छुट्टिएको थियो। त्यसपछि चट्टान र बरफको विशाल पहिरो खस्यो, जुन तीव्र गतिमा बाढी र गेग्रानसहितको भेलमा परिणत भयो। उक्त भेल ल्हेन्दे खोला र त्रिशूली नदी प्रणाली हुँदै तल्लो तटतिर फैलियो।

यस विपद्ले नदी उपत्यकाको ७२ किलोमिटर क्षेत्र प्रभावित पार्दै सडक, पुल, भवन, सुरुङ तथा नेपाल–चीन सीमापार व्यापार मार्गका महत्वपूर्ण पूर्वाधार नष्ट गर्‍यो। यस विपद्मा १४ सयभन्दा बढीको ज्यान गएको छ भने ५ हजार ७४५ जना अझै बेपत्ता रहेका छन्। चीनको तिब्बत स्वायत्त क्षेत्रमा पनि थप मानवीय क्षति भएको थियो।

भूउपग्रहबाट प्राप्त तस्बिरको विश्लेषणले प्रारम्भिक रूपमा भत्किएको चट्टान र बरफको परिमाण ९ करोड ९० लाख घनमिटर रहेको देखाएको छ। यसको परिमाण बुझाउन लेखकले अमेरिकाको एम्पायर स्टेट भवनजस्ता करिब ११५ वटा विशाल संरचना एकैपटक हिमाली भिरबाट खसेको अवस्थासँग तुलना गरेका छन्।

यस विपद्को विनाशकारी प्रभाव पिण्डको आकारमा मात्र सीमित थिएन, भत्किएको पिण्ड उत्पत्तिस्थलबाट करिब १ हजार ३०० मिटर तल हिमनदी उपत्यकाको फेदीमा खसेको थियो। त्यसपछि थप करिब ८७० मिटरको उचाइ अन्तर पार गर्दै तल झरेको थियो।

यसरी कुल करिब २ हजार १७० मिटर तल झर्दा गुरुत्वीय ऊर्जा ‘गति ऊर्जा’ मा रूपान्तरण भएको थियो। त्यसले चट्टान र बरफलाई तीव्र गतिमा तल धकेल्दै पानी, पग्लिएको हिउँ र गेग्रान मिसिएको विनाशकारी भेलमा परिणत गर्‍यो, जसले साँघुरो उपत्यका केही मिनेटमै तहसनहस पार्न सक्ने शक्ति प्राप्त गर्‍यो।

जर्नल अफ इन्डियन सोसाइटी अफ रिमोट सेन्सिङ’ मा प्रकाशित अनुसन्धानले हिमपहिरो करिब ५.९ किलोमिटर तलसम्म फैलिएको देखाएको छ। तल झर्ने क्रममा त्यसले थप हिउँ, हिमनदीको बरफ, ढुंगा र माटो आफूसँगै बगाएको थियो।

यसरी ठुलो परिमाणमा जम्मा भएको पदार्थले विनाशकारी आकस्मिक बाढी निम्त्यायो। त्यसको करिब तीन घन्टापछि गएको अर्को पहिरोले नदी थुनिएर पानी जम्ने तालसमेत बनाएको अध्ययनमा उल्लेख छ।

नयाँ अध्ययनअनुसार नेपाली समयअनुसार बिहान ८ः३७ बजे भूकम्पको जस्तो देखिएको संकेत वास्तवमा ठुलो आवाज र शक्तिका साथ तल झरेको चट्टानी पहिरोका कारण उत्पन्न भएको थियो। अध्ययनले भूकम्पका कारण चट्टान र बरफको पहिरो गएको नभई पहिरो खस्दाकै क्रममा उक्त संकेत रेकर्ड भएको जनाएको छ।

निसारले कसरी पहिचान गरेको थियो जोखिम?

यस घटनाको सबैभन्दा महत्वपूर्ण वैज्ञानिक निष्कर्ष निसार भूउपग्रहले खिचेको तस्बिरसँग सम्बन्धित छ। पृथ्वीको सतहमा भइरहेका परिवर्तन अत्यन्त सूक्ष्म तहसम्म मापन गर्न सक्ने क्षमताका कारण निसारप्रति ठुलो अपेक्षा छ। यसले जमिनको सतहको मिलिमिटर तहसम्मको गति पहिचान गर्ने दाबी गरिएको छ। पर्वतीय क्षेत्रमा हिमनदीको गतिविधि, जमिनको स्वरूपमा हुने परिवर्तन र प्राकृतिक विपद्को जोखिम निगरानी गर्नु पनि यसको प्रमुख उद्देश्यमा पर्छ।

भारतीय नेसनल रिमोट सेन्सिङ सेन्टरको अध्ययन अनुसार सन् २०२६ जुन २० देखि अगस्ट १९ सम्मको निसारको ‘एल–ब्यान्ड’ राडार तथ्यांकले ठुलो पहिरो गएको स्थानमा त्यसअघि नै अस्थिर क्षेत्र स्पष्टरूपमा पहिचान गरेको थियो। तथ्यांकले पहिरो जानुअघि नै चट्टानी भिरमा तीव्र गतिमा सतह परिवर्तन भइरहेको देखाएको थियो।

विशेषगरी जुलाई २६ देखि अगस्ट १९ सम्मको अन्तिम निगरानी अवधिमा सतहको विस्थापन देखाउने संकेतहरू थप बलिया र एकरूप देखिएका थिए। ती संकेत पछि भत्किएको क्षेत्रको ठुलो हिस्सामा फैलिएका थिए।

केही स्थानमा जमिनी सतहको समानान्तार फैलावट पाँच मिटरभन्दा बढी रहेको तथ्यांकले देखाएको थियो। यसको अर्थ, उक्त पहाड भत्किनुअघि नै त्यसमा भइरहेको परिवर्तन भूउपग्रहले अभिलेख गरेको थियो, तर ठुलो परिमाणमा संकलित तथ्यांकभित्र रहेको जोखिमको संकेत पहिचान हुन सकेन।

विपद्पछिका तस्बिरसँग तुलना गरेपछि मात्र अस्थिर क्षेत्र स्पष्ट देखिएको अनुसन्धानकर्ताले बताएका छन्। यसको अर्थ, विपद्अघि नै संकेत उपलब्ध थिए, तर त्यसको विपद्पछि मात्र विश्लेषण गरियो।

क्यालिफोर्नियास्थित नासाको जेट प्रोपल्सन ल्याबोरेटरीले एनडिटिभीलाई दिएको प्रतिक्रियामा निसारले बाढी प्रभावित क्षेत्रमा संकलन गरेको तथ्यांक सर्वसाधारणका लागि निःशुल्क उपलब्ध रहेको जनाएको छ।

उक्त तथ्यांक अलास्का स्याटेलाइट फ्यासिलिटीको डिस्ट्रिब्युटेड एक्टिभ आर्काइभ सेन्टर र इसरोको भुनिधि पोर्टलबाट प्राप्त गर्न सकिन्छ। प्रयोगकर्ताले ती तथ्यांक विश्लेषण गरेर भविष्यमा हुन सक्ने विपद्को जोखिम सामान्यरूपमा आकलन गर्न सक्छन्।

विपद्पछि भए पनि इसरोले तथ्यांकको विश्लेषण गरेको तर नासाले भने नेपालको विनाशकारी बाढीबारे अहिलेसम्म आफ्नै विश्लेषण नगरेको उक्त वैज्ञानिक लेखमा दाबी गरिएको छ। वैज्ञानिकका अनुसार यसले विपद् व्यवस्थापनको एउटा आधारभूत समस्या उजागर गरेको छ।

निसार जस्ता भूउपग्रहले जोखिमयुक्त क्षेत्रको नक्सांकन गर्न, अस्थिर भिर पहिचान गर्न र जमिनको सतहमा भइरहेको परिवर्तनको गति बढ्दै गएको पत्ता लगाउन सक्छन् तर हिमनदी वा पहाड ठ्याक्कै कुन समयमा भत्किन्छ भन्ने भविष्यवाणी गर्न अहिलेको प्रविधिले सक्दैन।

हिमालयको विशाल भौगोलिक क्षेत्रका कारण चुनौती झन् जटिल छ। हजारौं किलोमिटर क्षेत्रमा फैलिएको हिमालयमा २५ हजारभन्दा बढी हिमनदी, झुन्डिएका हिमनदी उपत्यका, अस्थिर चट्टानी भिर र पर्माफ्रोस्ट क्षेत्र छन्। प्रत्येक वर्ग किलोमिटर क्षेत्रको निरन्तर निगरानी गर्न ठुलो कम्प्युटिङ क्षमता, उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधि र राडारबाट प्राप्त तस्बिरको लगभग वास्तविक समयमै विश्लेषण गर्न सक्ने प्रणाली आवश्यक हुन्छ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनले पनि यस विपद्मा योगदान गरेको हुन सक्ने प्रमाण फेला पारेका छन्। भूउपग्रहबाट प्राप्त तथ्यांकका आधारमा गरिएको सो विश्लेषणले सन् २०२६ को गर्मीयाम असाधारण रूपमा तातो रहेको देखाएको छ।

सन् २००१ देखि २०२५ सम्मको दीर्घकालीन औसतको तुलनामा त्यस अवधिको तापक्रम उल्लेख्य रूपमा बढी थियो। विगत उपलब्ध २६ वर्षको उपलब्ध अभिलेखमा सन् २०२६ त्यहाँका सबैभन्दा ताता वर्षमध्ये एक रहेको सो अध्ययनले जनाएको छ। त्यस क्षेत्रको दैनिक तापक्रम ८ देखि ९ डिग्री सेल्सियससम्म पुगेको थियो।

लामो समयसम्म कायम रहेको यस्तो तापक्रमले हिमनदी पग्लने क्रम तीव्र बनाएको, पग्लिएको पानीको मात्रा बढाएको र पहिल्यैदेखि नै दबाबमा रहेका पहाडी भिरलाई थप अस्थिर बनाएको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।

नेपालमा आएको यो विपद् एक्लो घटना हुन नसक्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। बढ्दो तापक्रम, हिमनदी पग्लने क्रम र अस्थिर हिमाली भिरले हिमालय क्षेत्रमा एकपछि अर्को प्रकृतिका विपद् निम्त्याउन सक्ने उनीहरूको भनाइ छ।

सन् २०२१ मा भारतको उत्तराखण्डस्थित चमोलीमा गएको चट्टान र बरफको पहिरोले पनि यस्तै जोखिमतर्फ संकेत गरेको थियो। नेपालको विपद्ले तापक्रम बढ्दै गएको अवस्थामा यस्ता घटना थप सामान्य हुन सक्ने प्रमाणलाई बलियो बनाएको अध्ययनको निष्कर्ष छ।(एनडिटिभी र अन्य सन्दर्भ सामग्रीमा आधारित)

भूउपग्रह मात्र पर्याप्त छैन

इसरो र विपद् व्यवस्थापन निकायका लागि गरिएको यो अध्ययनले आगामी दिनमा अपनाउनुपर्ने उपायको मार्गचित्रसमेत प्रस्तुत गरेको छ। अझ शक्तिशाली भूउपग्रह प्रक्षेपण गर्नु मात्र समाधान नभएको उक्त प्रतिवेदनमा उल्लेख छ।

निसारले जोखिमका संकेत पहिचान गर्न सक्ने क्षमता देखाइसकेको उल्लेख गर्दे सम्पूर्ण हिमालय क्षेत्रको निरन्तर निगरानी गर्ने, हिमनदीको असामान्य गतिविधि स्वतः पहिचान गर्ने, जमिनको सतहमा परिवर्तनको गति बढिरहेको अवस्था पत्ता लगाउने र भूउपग्रहका तथ्यांकलाई जलवायु, भूगर्भ तथा भूकम्पसम्बन्धी तथ्यांकसँग एकीकृत गर्ने प्रणाली निर्माण गर्न आवश्यक रहेको अध्ययनमा  जनाइएको छ।

वैज्ञानिकका अनुसार, रसुवा बाढीले भूउपग्रहबाट जोखिमयुक्त क्षेत्र पहिचान गर्न र अस्थिर बन्दै गएका पहाडबारे जानकारी प्राप्त गर्न सकिने देखाएको छ तर हिमनदी ठ्याक्कै कहिले भत्किन्छ र त्यसले कहिले विनाशकारी बाढी निम्त्याउँछ भन्ने अनुमान गर्न अहिलेको प्रविधि पर्याप्त छैन। त्यसका लागि जमिनमै स्थापना गरिएका निगरानी केन्द्रहरू पनि आवश्यक पर्दछन्।

उक्त वैज्ञानिक लेखको अन्तिम निष्कर्षमा भनिएको छ, ‘विश्वकै सबैभन्दा महँगो पृथ्वी अवलोकन भूउपग्रहले पहाड भत्किनुअघि नै त्यसमा भइरहेको परिवर्तन देखेको थियो। त्यस्ता संकेतलाई निरन्तर निगरानी गरेर समयमै विश्वसनीय पूर्वसूचना जारी गर्न सक्ने व्यवस्था निर्माण गर्नु अबको आवश्यकता र चुनौती हो।’  

प्रकाशित: ९ कार्तिक २०८३ ०९:२३ सोमबार