समाज

राज्यको नजर बाहिर रहेका बालबालिकाको अवस्था पहिचान गर्न नयाँ पहल

बाबुआमासँग नभएका बालबालिकाको वास्तविक अवस्था पत्ता लागेमा उनीहरूको संरक्षणमा ठुलो योगदान हुने भएको छ। बाल स्याहार केन्द्रमा रहेका बालबालिकाको तथ्यांक जानकारीमा आए पनि त्यसभन्दा बाहिर रहेका हजारौं बालबालिका राज्यको जानकारीमा समेत नरहेकाले उनीहरूको वास्तविक अवस्था थाहा पाउनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।  

राष्ट्रिय तथ्यांक कार्यलय र युनिसेफले बुधबार ललितपुरमा आयोजना गरेको बालबालिका र वैकल्पिक हेरचाह सम्बन्धी क्रियाकलापको अन्तर्राष्ट्रिय वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम वक्ताहरूले यस्तो बताएका हुन्।  

कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले हरेक बालबालिकालाई जहाँ बसे पनि बालसुलभ वातावरण उपलब्ध गराउनु पर्ने बताएकी छन्। ‘सुरक्षित र पारिवारिक वातावरणमा हुर्कन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। यसका संरक्षण गर्नु केवल मानवीय संवेदना मात्र होइन,’ मन्त्री वादीले भनिन्, ‘यो न्यायपूर्ण, समानतामुलक र समृद्धि समाज निर्माणको अनिवार्य आधारशिला हो।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य डा.रेशु अर्याल ढुंगानाले बाबुआमाको संरक्षणमा नभएका बालबालिकाको तथ्यांक केवल केन्द्रमा मात्र होइन हरेक स्थानीय तहमा संकलन हुनुपर्ने बताइन्। नेपालले बालबालिका सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धीमा हस्ताक्षर समेत गरेकाले ति अभिसन्धीका आधारमा बालबालिकाको तथ्यांक र वर्गीकरण गर्नुपर्ने बताइन्। ‘हामीले बालबालिकाको तथ्यांकमा मात्र होइन उनीहरूको सुरक्षामा समेत ध्यान दिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘वैकल्पिक हेरचाहका बालबालिकाकाको विस्तृत तथ्यांक संकलन गर्ने र वर्गीकरण गर्ने कुरा महत्वपूर्ण छ।’

राष्ट्रिय तथ्यांक कार्यलयका निर्देशक पृथ्वीविजय सिजापतीले वैकल्पिक हेरचाह र यसका अन्तर्राष्ट्रिय अभ्यासका विषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए। सिजापतीले प्रस्तुत गरे अनुसार वैकल्पिक हेरचाहको नौ वटा वर्गीकरण रहेको उल्लेख गरे। नेपालमा यस वर्गीकरण अनुसार तथ्यांक नभएकाले वैकल्पिक हेरचाहको अवस्था पत्ता लगाउन मुस्किल भएको सिजापतीले बताए। ‘अब हामीले वैकल्पिक हेरचाहका लागि अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेका नौ वटै वर्ग अनुसार तथ्यांक संकलन गरेर अन्तर्राष्ट्रिय रूपमै तुलना योग्न बनाउन लागिएको छ,’ सिजापतीले भने।

कार्यलयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले वैकल्पिक हेरचाहका बालबालिकाको तथ्यांक संकलन गर्ने काम तथ्यांक प्रणालीमा कोशेढुंगा सावित हुने बताए। राष्ट्रिय जनगणनाले करिब साढे ३ लाख बालबालिका वैकल्पिक हेरचाहमा रहेको तर उनीहरूको अवस्था के छ भन्ने कुरा स्पष्ट नभएकाले तथ्यांकलाई नयाँ ढंगले कोडिङ गर्न लागिएको बताए।

युनिसेफकी नेपालकी उपप्रतिनिधि जी ह्युन राहले प्रत्येक बालबालिकालाई तथ्यांकीय प्रणालीमा समेट्ने र उनीहरूको अवस्थालाई पहिचान गर्ने राष्ट्रिय तथ्यांक प्रणाली निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राष्ट्रिय तथ्यांक कार्यलयमा धन्यवाद दिएकी छन्। उनले वैकल्पिक हेरचाह सम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण प्रणालीलाई चरणबद्ध रूपमा राष्ट्रिय तथ्यांक र प्रशासनिक सूचना प्रणालीमा समावेश गर्ने महत्वपूर्ण राष्ट्रिय यात्राको सुरुवात भएको भनेकी छन्।  

गत मार्चमा संयुक्त राष्ट्र संघीय तथ्यांक आयोगले बालबालिकाको वैकल्पिक हेरचाह (आइकेयर)लाई अन्तर्राष्ट्रिय तथ्यांकीय मापदण्डका रूपमा अनुमोदन गरेको थियो। यससँगै नेपालसहित विश्वका विभिन्न देशहरूले अभिभावकीय हेरचाह बाहिर रहेका वा वैकल्पिक हेरचाहमा रहेका बालबालिका सम्बन्धी अवधारणा, परिभाषा र वर्गीकरणको साझा अन्तर्राष्ट्रिय आधार प्राप्त गरेका छन्।

कार्यक्रमलाई समापन गर्दै प्रमुख तथ्यांक अधिकारी (सचिव) लक्ष्मी बस्नेतले वैकल्पिक हेरचाहको तुलनात्मक तथ्यांकीय प्रणाली विकास भएपछि कुन क्षेत्रका बालबालिकालाई अझ बढी हेरचाह आवश्यक छ भनेर तुलना गर्न सकिने तथ्यांक प्राप्त हुने बताइन्। उनले बालबालिका हेरचाहको मुख्य काम महिला मन्त्रालयको भए पनि तथ्यांकलाई अद्यावधिक गर्ने काम राष्ट्रिय तथ्यांक कार्यालयले गरेको स्पष्ट पारिन्।

कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको प्रमुख तथ्यांक अधिकारी बस्नेत, उपप्रमुख तथ्यांक अधिकारी लामिछाने र युनिसेफका रामप्रसाद गौतमले जवाफ दिएका थिए।

प्रकाशित: ९ मंसिर २०८३ १६:२५ बुधबार