समाज

‘हात्ती आतंक रोक्न नयाँ तारबार र ट्याक्टर परिचालन गरियोस्’

फाइल तस्बिर

जंगली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन्।

हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रबार मेचीनगर-४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन्।

मानव-हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक रहेको बताए।

उनका अनुसार भारतबाट दैनिक करिब १०० को संख्या‍मा आउने हात्तीको बथानलाई स्थानीयले रातभर गस्ती गरेर मेची बगरमै रोक्ने प्रयास गरिरहेका छन्। 'बाहुनडाँगीको विभिन्न गौडाबाट छिर्ने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्‍याइरहेको छ,' उप्रेतीले भने।

मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीहरू गाउँबस्तीतिर सोझिन थालेको उल्लेख गर्दै पूर्वी सीमा क्षेत्रमा बलियो विद्युतीय घेराबेरा लगाउनुपर्नेमा राज्यले जोड दिनुपर्ने बताए। धानबाली पाक्ने समयमा हुल बाँधेर आउने हात्तीलाई सीमामै रोक्न पछिल्लो समय समितिले ट्याक्टरको प्रयोग गरिरहेको छ। स्थानीय राजु दाहालले ट्याक्टरको आवाजले हात्ती तर्सिने भएकाले बाली भित्र्याउने याममा हरेक गौंडामा कम्तीमा दुई वटा ट्याक्टर परिचालन गर्न सुझाव दिए।

हात्ती नियन्त्रण गर्न परिचालित स्वयंसेवी युवा समूह (आरआरटी)का अगुवा न्युटन कार्कीले सडक नभएका खेतबारीमा समेत लैजान सकिने भएकाले हात्ती धपाउन ट्याक्टर निकै प्रभावकारी देखिएको बताए।

स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबिच साझा दृष्टिकोण र कार्ययोजना आवश्यक रहेको बताए।

स्थानीयको मागबमोजिम नयाँ योजनाका साथ काम अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले सीमा क्षेत्रमै हात्ती रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए। रासस

प्रकाशित: २८ कार्तिक २०८३ ०७:०३ शनिबार