समाज

पशुपति-बौद्ध जोड्ने सडकमा नयाँ ‘आस्फाल्ट’ कालोपत्र

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ट प्रविधि’ को कालोपत्र गर्न लागिएको छ।

कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थानीयवासीको गुनासो छ। आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा नभएको स्थानीयवासी मंगलबहादुर तामाङले गुनासो गरे। कालोपत्र भइरहेको र त्यति धेरै नबिग्रिएको सडक भत्काएर स्रोतको दुरुपयोग भइरहेको उनको भनाइ छ। अपारदर्शी रूपमा हुने यस्ता काम रोकिनुपर्ने स्थानीयवासीको भनाइ छ।

काठमाडौं महानगरपालिका–६ का अध्यक्ष भुवन लामा भने आस्फाल्ट प्रविधि प्रयोग गरेर कालोपत्र राम्रो हुने भएकाले दुई विश्व सम्पदा क्षेत्रलाई राम्रो सडक बनाउने उद्देश्यले यस्तो कालोपत्र गर्न लागिएको बताउँछन्। महानगरपालिका सार्वजनिक निर्माण विभागले छिटो गरी यो सडक निर्माण सक्ने जनाएको छ। 

विभागका तर्फबाट साइट इन्चार्जका रूपमा खटिएका इन्जिनियर प्रफुल्ल गर्तौला मङ्सिरसम्ममा करिब चार किलोमिटर लामो सडक कालोपत्र सकिने बताउँछन्। रु दुई करोड लागतमा सडक कालोपत्र भइरहेको उनले सुनाए।

प्रकाशित: २६ कार्तिक २०८२ १२:३६ बुधबार