विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ (यूएन) को आह्वानमा नेपाली सेनाको नयाँ टोली कार्यक्षेत्रतर्फ प्रस्थान गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड इथियोपियन एयरलाइन्समार्फत सेनाको टोली मिसन इलाकातर्फ उडेको हो। उक्त टोली मिसनमा आफ्नो एक वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेको टोलीलाई प्रतिस्थापन गर्न त्यसतर्फ गएको हो।
द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुनुअघि शान्ति सैनिकहरूलाई संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार आवश्यक विशेष तालिम तथा अभिमुखीकरण प्रदान गरिएको छ। नयाँ टोली मिसन इलाकामा पुगेर जिम्मेवारी सम्हालेपछि त्यहाँ कार्यरत अघिल्लो टोली स्वदेश फिर्ता हुनेछ।
हाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सेना तथा प्रहरी पठाएर विश्व शान्तिमा योगदान पुर्याउने देशहरूको सूचीमा नेपाल अग्रणी स्थानमा रहँदै आएको छ।
नेपाली शान्ति सैनिकहरूले देखाएको उच्च व्यावसायिकता, अनुशासन र कर्तव्यपरायणताको राष्ट्रसंघ तथा स्थानीय समुदायबाट समेत उच्च प्रशंसा हुँदै आएको छ।
प्रकाशित: १५ आश्विन २०८३ १६:०० बिहीबार