भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले बजार पाउन थालेको छ।
भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन्।
भारतीय सागसब्जी आयात रोकिएपछि अहिले बिहानीपख नेपालगञ्जको धम्बोझीस्थित सुर्खेतरोडमा बाँके र बर्दिया जिल्लाका किसानले बिक्री गर्ने सागसब्जी किनमेलको लागि उपभोक्ताको भीड लाग्ने गरेको छ।
भारतबाट आउने सागसब्जीलाई भन्सारमा कडाइ गरेपछि नेपालगञ्जमा बाँकेका किसानले उत्पादन गरेको सागसब्जीले बजार पाएको नेपालगञ्जस्थित रानीतलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए।
नेपालगञ्जको रानीतलाउ सागसब्जी बजारमा अहिले बाँके जिल्लामै उत्पादन भएको सागसब्जी आउने गरेको छ।
भारतबाट बिक्रीका लागि ल्याउने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानले स्वदेशी कृषिउपजले बजार पाएको छ।
भारतबाट भन्सार गरेर सागसब्जी ल्याउँदा महङ्गो हुने भएकाले व्यवसायीले भारतीय सागसब्जी आयात कम गरेका छन्।
नेपालगञ्जको तरकारी बजारमा अहिले बाँकेको डुडुवा गाउँपालिका–६ स्थित हिरमिनिया, नेपालगञ्ज–१४ बालेगाउँ, जानकी गाउँपालिकाको ढोडेगाउँ, खजुरा गाउँपालिकाका किसानले कृषिउपज बिक्री वितरण गर्ने गरेका छन्।
सल्यान, सुर्खेत र बर्दियाबाट पनि थोक दरमा तरकारी बजारमा कृषिउपज आउने गरेको अध्यक्ष थापा क्षेत्रीले बताए।
नेपालगञ्जको सागसब्जी बजार बाँकेका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको फूलगोभी, बन्दागोभी, लौका, फर्सी काँक्रा, बोडी, गोलभेँडा, खुर्सानीलगायतका कृषिउपजले धानेको छ।
भारतबाट आउने तरकारी रोकिएपछि अहिले आफूहरुले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाएको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँका किसान जलालुद्दीन बागवनले बताए।
यस वर्ष राप्ती नदीको किनारमा गरिएको तरभुजाखेतीका कारण भारतीय तर्भुजालाई समेत विस्थापित गरिदिएको थियो।
बजारमा उपभोक्ता अर्गानिक तथा स्थानीय उत्पादनतर्फ आकर्षित भइरहेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए।
प्रकाशित: २७ श्रावण २०८३ १८:१२ बुधबार



