नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थानमा सञ्चार सेवा पुनः सञ्चालनमा ल्याएको छ।
टेलिकमले सोमबार रसुवाका जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सेवा सञ्चालनमा ल्याएको हो।
यससँगै बाढीबाट प्रभावित भएका नेपाल टेलिकमका कुल १२० मध्ये ११० साइट सञ्चालनमा आएका छन्। जिबजिबे टावर सञ्चालनमा आएसँगै भोर्ले, चिती, गाइसौरा, भोर्लेलगायत नौकुण्ड गाउँपालिका-५ र ६ का विभिन्न स्थानका सेवाग्राहीले सञ्चार सेवा प्राप्त गरेका छन्।
सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने टेलिकमले जनाएको छ।
धादिङको बेनीघाट साइट सञ्चालनमा आएपछि बेनीघाट बजार तथा आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ।
नुवाकोटको त्रिशूली साइट सञ्चालनमा आएसँगै त्रिशूली बजार, ढुङ्गे तथा आसपासका क्षेत्रमा सेवा पुनः सहज भएको छ। बाढीका कारण अवरुद्ध भएका बाँकी साइटहरू पनि क्रमशः सञ्चालनमा ल्याउने कार्य भइरहेको नेपाल टेलिकमले जनाएको छ।
प्रकाशित: १५ भाद्र २०८३ १९:०९ सोमबार