नेपाल मेडिसिटीले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस) सँगको सहकार्यमा ‘एडभान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ नेपालमै पहिलो पटक आयोजना गरेको छ।
सोमबार (मार्च २३) देखि सुरु भएको तालिम २७ गतेसम्म सञ्चालन हुनेछ। यस तालिमले देशमा आकस्मिक तथा गम्भीर बिरामीको सुरक्षित र प्रभावकारी स्थानान्तरण सेवामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिट्युड सर्भिस चिफ डा. सञ्जय कार्कीका अनुसार तालिम विशेषगरी हेलिकोप्टरमार्फत उद्धार (एयरलिफ्ट) गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन, स्थानान्तरण तथा उपचार प्रक्रियामा केन्द्रित रहेको छ। तालिमका क्रममा बिरामीलाई कसरी सुरक्षित रूपमा सार्ने, हेलिकोप्टरभित्र बिरामीको उचित अवस्थिति तथा यात्राको क्रममा आवश्यक हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास (मोक टेस्ट) सहित प्रशिक्षण प्रदान गरिनेछ।
डा. कार्कीका अनुसार नेपाल हेलिकप्टरको भूमि हो। ‘यहाँको भौगोलिक बनावटका कारण ग्रामीण क्षेत्रमा उचित सडक नहुनु, पर्यटकलाई पर्वतारोहण गर्दा आपतकालीन उद्धार गर्नुपर्ने तथा अधिकतम उचाइमा उडान भर्नुपर्ने कारणले हेलिकप्टर अति आवश्यक र अनिवार्य रहेको छ,’ डा. कार्कीले भने। अझै सघन उपचारका लागि काठमाडौं नै धाउनुपर्ने अवस्था रहेका कारण हेली रेस्क्युमा अनिवार्य चिकित्सकहरू खटाइनुपर्ने वा उपचारकै लागि समर्पित हेलिकप्टर आवश्यक रहेको उनले बताएका थिए।
नेपालका सात वटा अस्पतालहरूमा हेलिकप्टर अवतरण गराउन हेली रुफ रहेको छ। सन् २०१३ बाट उपचारका लागि हेली उद्धार सुरु गरिएको हो। नेपाल मेडिसिटीले हालसम्म एक हजार ७६७ जना बिरामीलाई हेलिकप्टरबाट उद्धार गरी उपचार गरिएको जानकारी गराएको छ। तीमध्ये एक हजार १९८ हेली रेस्क्यूमा अस्पतालबाट चिकित्सकहरू खटिएका थिए। त्यस्तै कोरोना महामारीको समयमा अस्पतालले २१० जनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचार गरिएको थियो।
तालिम उद्घाटनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा. प्रकाश बुढाथोकीले आकस्मिक स्वास्थ्य उपचारका लागि नेपाल सरकारले विभिन्न सरोकारवालाहरूलाई तालिम प्रदान गर्दै आएको जानकारी गराए। उनले नेपालमा एक हजार ७०० एम्बुलेन्सले सडकबाट बिरामी उद्धार गर्दै आएकोमा कमै मात्र एम्बुलेन्समा चिकित्सकहरू रहने बताए। ‘हामीसँग १०४ चिकित्सकहरू तथा मेडिक्सहरुमात्र तालिम प्राप्त छन्। यो संख्या बढाउन हामीले एम्बुलेन्स ड्राइभर, टेक्निसिएन आदिलाई तालिम दिँदै आएका छौँ। त्यस्तै, बेसिक सर्भाइभल ट्रेनिङ पनि प्रदान गर्दै आएका छौँ,’ उनले भने।
सो अवसरमा उनले सरकारले हेली एम्बुलेन्स सेवा तथा उद्धारका लागि पनि विभिन्न वर्कसप तथा कानुन तयार गरिरहेको बताउँदै सम्पूर्ण नेपालीलाई निःशुल्क आपतकालीन सेवा प्रदान गर्न प्रयासरत रहेको दाबी पनि गरे।
कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षक, स्विट्जरल्यान्ड, भारत र जापानबाट आमन्त्रित ख्यातिप्राप्त चिकित्सकहरूले पनि आफ्नो अनुभव साटेका थिए। कार्यक्रममा डा. स्टेफेन हन्र्स, डा. रायन म्याकहेनरी, डा. स्टिभेन रेनी, जुली काथकार्ट र डेभिड कार्सनले प्रशिक्षण दिनेछन्।
प्रा. डा. मोनिका ब्रोडम्यान माडेर, भारतका पद्मश्री पुरस्कार विजेता डा. सुब्रतो दास र सह-प्राध्यापक ताकाशी इशिजाकी, नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. ड्यानिएल म्युव्ली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भारतीय दूतावास, जापान दूतावास, बंगलादेश दूतावास, जर्मन दूतावास, चीन दूतावास, इजरायल दूतावास, जायका, विश्व स्वास्थ्य संगठन र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत उपस्थिति रहेको थियो।
तालिममा पूर्व-अस्पताल सेवा (प्रि-हस्पिटल केयर) तथा आकस्मिक चिकित्सा सेवामा संलग्न विभिन्न अस्पताल तथा संस्थाबाट करिब ३० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सहभागी छन्। सहभागी संस्थाहरूमा नर्भिक अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, बयोधा अस्पताल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ), नेपाली सेना अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका अस्पतालहरूबाट सहभागिता रहेको अस्पतालले जानकारी दिएको छ।
सो अवसरमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले यस प्रकारका तालिम तथा कार्यक्रमले नेपालका स्वास्थ्य संस्था तथा सरोकारवालाबिच सहकार्य सुदृढ गर्दै देशको स्वास्थ्य सेवा स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उकास्ने विश्वास व्यक्त गरेका थिए। उनले स्वास्थ्यकर्मीहरूलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गरेर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने आफ्नो दीर्घ दृष्टि साझा गर्दै, नि:शुल्क तालिमले सबैमा अवसर र पहुँच विस्तार गर्ने बताए।
त्यस्तै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले इमरजेन्सी मेडिकल रिट्रिभल सर्भिस कार्यक्रमले बिरामीहरूको सुरक्षित स्थानान्तरण, व्यवस्थापन तथा उपचार प्रक्रियाको लागि नेपाली स्वास्थ्यकर्मीहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्नमा थप टेवा पुर्याउने विश्वास लिएका छन्। सबै पक्षहरू मिलेर यस तालिमबाट प्राप्त सीप तथा ज्ञानलाई उपचारको क्रमका उपयोग गर्नुपर्नेमा उनको जोड थियो।
प्रकाशित: १० चैत्र २०८२ ११:२१ मंगलबार